arrow

दशैँमा निधार खाली नहुँदा खुशी भए कैदीबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
dashain.jpg

दमौली । विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले मंगलबार आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् । 

“दशैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिए,” तनहुँ कारागारमा जेल सजाय भोगिरहेका एक कैदीबन्दीले खुसी हुँदै भने, “कारागारमै हुँदा पनि दशैँको टीका लगाउन पाएँ खुसी लागेको छ ।”कारागारमै रहेका अर्का एक कैदीले पनि दशैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गरे । उनले भने, “कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दशैँ मनाए जस्तो भयो । कारागारभित्रको माहोल पनि दशैँमय बनेको छ ।”

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दशैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आएका थिए। 

अधिकारीले भने, “समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उनहरुमा खुसीयाली छाएको छ ।” कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यकपर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ ।

सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन् । दशैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दशैँ खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि एक हजारसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए । उनका अनुसार दशैँमा रु पाँच लाख बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ । 

यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ