इजरेलमा हमासको आक्रमणमा पनि ज्यान गुमाएका तीन नेपाली विद्यार्थीको शव पहिचान
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
768
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । दक्षिणी इजरेलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।
तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो । योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।
इजरेल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ ।
डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुई जनाको इजरेलमा उपचार भइरहेको छ ।