arrow

सेनाको गरिमा घटाउने खेलो, अवकाशमा हुनुपर्ने पाण्डेलाई प्रधानसेनापति बनाउने मेलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
taradhoj-pandey-2080-07-14.jpg

काठमाडौँ । नेपाली सेनाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गरेको छ । सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेसँगै उनको विवादास्पद सरकारी कागजातहरु बाहिर आएका छन् । 

उपरथी पाण्डे रथीमा बढुवा हुने भएपछि उनी नै भावी प्रधानसेनापति हुने तर उनको छविले सेनाको सिंगो संगठनमै गलत परम्परा बस्ने संकेत देखिएको छ । उनको बाहिर आएको नागरिकताको प्रमाण पत्र अनुसार दुई वर्षअघि नै अवकाश पाइसक्नु पर्नेमा अहिले तिनै व्यक्ति प्रधानसेनापतिको लाइनमा राखिएको भन्दै रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्माको व्यापक आलोचना हुन थालेको छ ।

खासगरी २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनले २३ मंसिर २०२३ को जन्ममिति उल्लेख गरेका छन् । 

तर, उनको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १२ माघ २०२१ उल्लेख भएपछि विवाद शुरु भएको थियो ।  

जन्ममिति १२ माघ २०२१ कायम हुँदा १२ माघ २०७८ मै अवकाश पाउनुपर्ने थियो । 

सैनिक नियमावली अनुसार उपरथीको अवकाशको उमेरहद ५७ वर्ष हुन्छ । तर उनी अहिले सो अवधि पूरा गरी रथीमा बढुवा सिफारिस भएका छन् । 

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ । 

तर, नागरिकतामा भने २०२३ साल मंसिर १३ गते बनाइएको छ । ‘उहाँको शैक्षिक योग्यताको प्रमाणपत्रलाई आधार मान्ने हो भने त उहाँले दुई वर्ष बढी जागिर खाइसक्नु भएको छ उहाँलाई रथी बनाउने वा प्रधानसेनापति बनाउने कुनै आधार देखिदैन’, उच्च सैनिक स्रोतले भन्यो । 

युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ भित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भएपनि हालसम्म फाइल अघि बढिसकेको छ । 

प्रधानसेनापति शर्मा हाल चीन भ्रमणमा रहेका कारण पनि ढिलाइ भएको हो । स्रोतका अनुसार अहिलेसम्म सिफारिस पत्र मन्त्रिपरिषदमा पुगिसकेको छैन ।

नेपाली सेनामा विगतको परम्परालाई हेर्ने हो भने पनि जन्ममिति विवादमा  जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो । 

गौरवशमशेर राणादेखि पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा जगदीशचन्द्र पोखरेल, देवकुमार सुवेदीदेखि ज्ञानेन्द्र रायमाझी सम्मलाई यही अनुसार अवकाश दिइएको थियो । 

तर उनी भने रथीमा बढुवा सिफारिस मात्रै भएका छैनन् अब हुने प्रधानसेनापतिको रोलक्रममै उभिएका छन् । 

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट सम्बन्ध भएका कारण उनी अहिलेसम्म सो विवादबाट मुक्त भएका थिए । 

‘अहिलेसम्म उनी विवादबाट बच्दै आएका छन् अहिले मात्र उनको जन्ममितिबारे विवाद भएको होइन पहिला हालका प्रधानसेनापति प्रभुराम शर्मा समेतले उनको छानवीन गरेका थिए त्यतिकैमा रोकिएको थियो’, सैनिक स्रोतले भन्यो । 

सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले यो विषय अहिले नै निरुपण भैसकेको बताएका छन् । 

‘यो विषय उपरथीको बढुवा अघि नै निरुपण भैसकेको थियो अहिले के कारणले बाहिर आएको हो थाहा भएन’, सहायक रथी भण्डारीले भने ।

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ । 

तर उनको उमेरसम्बन्धी विवाद आएपछि जंगी अड्डाले समेत खण्डन गरेको थियो । 

‘ स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्रकृया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रकृयालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको ब्यहोरा जानकारी गराइन्छ । 

पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढङ्गले सञ्चार माध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ’, सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो बीचमा उपरथी पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम किर्तेमा कारबाही गर्न मागसहित जंगीअड्डामा उजुरी परेको छ ।  

यस्तै  प्रधानसेनापतिको कार्यालय, बढुवा समिति, रक्षा र संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । 

पाण्डेको नाम मन्त्रिपरिषदमा पुग्नुअगावै उजुरी परेको हो । उजुरीमा पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम किर्तेमा कारबाही गर्न माग गरिएको छ । तर यी उजुरीको बारेमा पनि कुनै सुनुवाई भएको छैन ।

उनको उमेर विवाद बाहिर नआउँदै उनले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन आर्थिक चलखेल गरेको पनि सैनिक वृत्तमा चर्चा चलेको छ । 

साथै राजनीतिक नेतृत्वलाई दबाब बढाएको चर्चा पनि उत्तिकै चलेको छ । उनको उमेर किर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री जानकार रहेको बताए पनि रक्षामन्त्रीको कुनै धारणा सार्वजनिक भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ