- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताएका छन् ।
बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताए ।
उनले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताए ।
यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताए ।
उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गरे ।
प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताए ।
प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताए ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताए ।
जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्दै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।