arrow

रुसी सेनामा गएका छ नेपालीको मृत्यु, ज्यान जोखिममा राखेर नजान प्रधानमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
prachanda-journalists-2080-.jpg

काठमाडौँ । रुसी सेनामा गएका छ जना नेपालीको मृत्यु भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्तिमार्फत अहिलेसम्म छ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको हो । 

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान हुन् । 

सरकारको सहमति बिना नै रुसले नेपाली नागरिकलाई सेनामा भर्ती गरेकोसमेत पाइएको छ । मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुन थुप्रै नेपालीहरु रुस गएको जनाएका छन् । उनले आइतबारमात्रै पनि भारत हुँदै दुई समूहमा ५३ नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान आग्रहसमेत गरेका छन् । 

यस्तो छ परराष्ट्रको प्रेस विज्ञप्ति

यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको व्यहोरा स्पष्ट गरेको विदितै छ।

तथापि,रुसमा हालै देहायका ६ जना नेपाली नागरिकहरुको रुसी सेनामा कार्यरत रहँदा दु:खद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।नेपाल सरकार दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

नेपाल सरकारले रुसी सरकारलाई निजहरुकोशव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध गरेको छ।

निधन भएका नेपालीहरुको विवरण:
क्रसं   नाम                        नेपालमा ठेगाना
१     सन्दिप थपलिया          गोरखा
२     रुपक कार्की             वाणगंगा-१, कपिलबस्तु
३     देवान राई                 पोखरा, कास्की
४     पितम कार्की            पुतलीबजार-५, स्याङ्गजा
५     राज कुमार रोका      मेलुङ्ग-६, दोलखा
६     गंगाराज मोक्तान      इलाम-५, इलाम

यस सम्बन्धमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक श्री विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको व्यहोरा जानकारी गराइन्छ।

त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने No Objection Certificate(NOC) लिएर मात्र यात्रा गर्नु हुन सर्बसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ।

अत: कसैको प्रलोभनमा परीवा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुन: हार्दिक अनुरोध गर्दछ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौँ
मिति: २०८०।०८।१८



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ