arrow

सबै क्षेत्रमा उम्मेदवार नउठाउने दल राष्ट्रिय हुन नसक्ने बनाऔँ – गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
gagan-thapa-new-bhasan.jpg

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुन नसक्ने भनी किटान गर्न माग गरेका छन् । 

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय दलका लागि बाध्यात्मक कानून नल्याएसम्म चुनावी गठबन्धन हुने समस्या देखिइरहने बताएका हुन् । 

त्यसो भयो भने कांग्रेसमात्र होइन एमालेलगायत कुनै पनि दलले गठबन्धन गर्न नपाउने भन्दै वास्तविक प्रतिस्पर्धा हुने बताए । संसद्मा निर्वाचन कानूनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै उनले सो कुरा बताएका हुन् । 

नेता थापाले त्यसो भयो भने कुनै पनि दल कसैसँग डराउन नपर्ने र स्वच्छ प्रतिस्पर्धा हुने बताए । 

उनले यो सम्भव भएको भन्दै अन्य देशमा पनि भएको उल्लेख गर्दै भने, ‘जुन कुरा गर्न सकिन्छ, जुन कुरा थुप्रै देशहरुमा अभ्यास पनि छ ।’  

थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताए । उनले पार्टी विधान बमोजिम चल्नुपर्छ भने । 

महामन्त्री थापाले भने, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ ।” 

महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेकोसमेत बताए । उनले भने, “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ