arrow

मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
bhaktapur-darwar-square.jpg

भक्तपुर। मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा सुरु भएको छ । साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधबार भव्यरुपमा नवदुर्गाको पूजा गरेका छन् भने नवदुर्गा देवगणले टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरेका छन् । 

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच बुधबार चपाचोमा प्यमा द्यो नाच, १२ गते भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, १३ गते नगदेश र बोडेमा, १४ गते दथुटोलमा, १५ गते दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरु टोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिने नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिए । 

नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुकुण्डोलगायत तान्त्रिक विधिअनुरुप नाच्ने उनले बताए । नवदुर्गा नाचमा साक्षात नवदुर्गा देवी प्रकट हुने जनविश्वास रहँदै आएको छ भने स्थानीयले नवदुर्गा देवगणको पूजा गर्ने गर्दछन् । नवदुर्गाले एक वर्षभरिका लागि स्थानीयलाई आशीर्वाद दिने प्रचलन रहेको उनले जानकारी दिए । 

नवदुर्गा देवगणलाई नाच प्रदर्शनका लागि स्वागत गरी प्रसाद ग्रहण गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अबको एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नाच प्रदर्शन गरी जात्रा सञ्चालन गर्ने र त्यसका लागि सुरक्षाको व्यवस्था गरेको बताए । 

नवदुर्गा देवगणले अन्तिम दिन पुस १६ गते मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरती गरी जात्रा मध्यपुरथिमिको नाच प्रदर्शन सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ