arrow

आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
high-court-patan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनले ‘शीप बिल्डिङ’ तर्फ आवेदन दिएका सबैलाई कोरिया जान आवश्यक कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन आदेश दिएको छ । 

न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो । 

न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा, ‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ’ उल्लेख छ ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन हुँदा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । 

सो क्रममा युवाहरुले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । 

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह हुन् । घटनामा संलग्न करिब पाँच दर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शीप बिल्डिङ तर्फका १८ जनाले आफूहरू ईपीएस परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै उच्च अदालत पाटन पुगेका थिए । त्यस्तै अदालत नगएकाहरुले आफूहरू पनि यस परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । 

प्रदर्शन हिंसामा बदलिँदा स्थिति नियन्त्रणमा लिने क्रममा दुई जनाको गोली लागेर मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ