arrow

जापानमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ४ रेक्टर स्केलमाथिका दुई दर्जन पराकम्पन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

टोकियो । जापानको मध्य भागमा सोमबार ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस) ले जनाएको छ । यसअघि यसलाई ७.४ र ७.५ रेक्टर स्केल बताइएको थियो ।

त्यसपछि निरन्तर ४ रेक्टर स्केलमाथिमा पराकम्पन आएका छन् । कम्तीमा दुई दर्जन ४ रेक्टर स्केलमाथिका पराकम्पन आएको जनाइएको छ । 

इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।” 

जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।

भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छालह आएको जापानी सञ्चारमाध्यम एनएचके ले जनाएको छ । जापानको मौसम विज्ञान निकाय ९(जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ । 

जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रशारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जानको लागि तत्काल आग्रह गरेका हुन् । 

  “हामी तपाईंको घरको मायालाई बुझ्छौं, तपाईंको सामानहरू सबै तपाईंको लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,” एनएचकेमार्फत् प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गर्नुभयो । 

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् । 

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९ रेक्टर स्केलको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ रेक्टर स्केलको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो । 

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ