arrow

जापानमा भूकम्पमा अझै २४२ बेपत्ता, कम्तीमा ९२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
japan-earthquake-2024-01-02.jpg

टोकियो । जापानको इशिकावामा ७.६ रेक्टर स्केलको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ । 

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । 

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिसहरु  भग्नावसेसमा फसेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारीहरु मिलेर बेपत्ताहरूको खोजी तथा सुरक्षाको पुष्टि गर्ने  प्रयासहरू गरिरहेका छन् ।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।

क्षतिग्रस्त क्षेत्रका १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएकाले अत्यावश्यक सामग्रीको पु¥याउन चुनौती  थपिएको छ । यसैबीच, ७०० भन्दा बढी व्यक्तिहरू भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन् ।

भूकम्पले यस क्षेत्रको पूर्वाधारमा गम्भीर असर परेको छ । लगभग तीस हजार घरधुरीले बिद्युत अवरूद्धताको सामना  गरिरहेका छन् । करिब १३ शहरका ८० हजार घरधुरीलाई खानेपानी आपूर्तिमा समस्या भएको छ । 

इशिकावामा करिब ३७० निकासी केन्द्रहरूमा करिब ३३ हजार मानिसहरू बसेका छन् ।  शौचालय लगायतका सरसफाइसम्बन्धी विषयमा पनि चिन्ताजनक अवस्था देखा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । जापान मौसम विज्ञान अनुसनधानसम्बन्धी निकायले भूकम्पलाई नोटो प्रायद्वीप भूकम्प २०२४ नामकरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ