arrow

राजधानीको नजिकै गाउँ, सहज सडक पहुँचले मुहार फेरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
bhaktapur-city.jpg

भक्तपुर । कमलविनायकबाट करिब तीन सय मिटर अगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका-५ छालिङमा सडक सहज पहुँचसँगै मुहार फेरिन थालेको छ । 

नेपाली सेनाको सैनिक प्रतिष्ठान ब्यारेक पछाडिबाट सुरु हुने घना ग्रामीण बस्ती रहेको छालिङ गाउँ कमलविनायकबाट तीन किलोमिटरको दूरीमा छ । भक्तपुरको ग्रामीण क्षेत्रमा नयाँ विकासका आयोजना थपिँदा छालिङवासीले भने विकासको महसुस गर्न पाएका थिएनन् । 

विकासका मुख्य पूर्वाधारका रुपमा मानिने सडकको ‘ट्र्याक’ करिब ३० वर्ष अगाडि खुले पनि सडक पक्की हुन सकेको थिएन । स्थानीय र जनप्रतिनिधिको पटक-पटक प्रयासले अन्तत तीन वर्ष अगाडि नेपाली सेनाले प्रतिष्ठानको पर्खाल भत्काउँदै सडक विस्तारमा सहजीकरण गरिदिएपछि छालिङवासीमा खुसी छाएको स्थानीय युवा गोकर्ण पुरी बताउँछन् । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सैनिक प्रतिष्ठानदेखि छालिङ सडकमा कालोपत्र गरेपछि भने यहाँका स्थानीयमा थप खुसी छाएको छ । नगर प्रमुख जीवन खत्रीको अथक प्रयासमा प्राधिकरणले विनियोजन गरेको रु १० करोडको बजेटमा सैनिक प्रतिष्ठानबाट वडा नं ५ छालिङ कार्यालय पुग्ने दुई सय ५० मिटर सडक, खरिपाटी मनकामना एक सय ५० मिटर सडक र वार्ड नं ७ वागेश्वरी सुविधा नगरमा फुटपाथसहित एक किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए । 

“भौगोलोकि हिसाबले चाँगुनारायण ठूलो नगरपालिका हो । अधिकांश ग्रामीण क्षेत्र रहेको यस नगरपालिकाको छालिङमा सडककै कारण अझै पनि सार्वजनिक यातायात सञ्चालन हुनसकेको छैन”, नगर प्रमुख खत्रीले भने, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ । विकटलाई सुगम बनाउन चालु आर्थिक वर्षभित्र नगरपालिका र प्राधिकरणको बजेटले छालिङको सडकलाई पूर्णता दिने योजना छ ।”

स्थानीय गोकर्ण पुरी भन्छन्, “नगर प्रमुखको नेतृत्वमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ । यहाँका सडकलाई पिखेल र खरिपाटीसँग जोड्ने काम सुरु भएको छ । मच्छेनारायण मन्दिर पर्यटकीय गन्तव्य बनेसँगै यस ठाउँमा विकासको लहर देखिएको छ ।” 

वर्षामा हिलाम्मे र हिउँदा खाल्डाखुल्डी सडकका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा स्थानीयलाई बजारसम्म पुग्न चार किलोमिटर सडक पैदल हिँड्नपर्ने बाध्यता थियो । नगरपालिकाले छालिङमा एक सय र मनकामना सडक एक सय गरी यसवर्ष दुई सय मिटर सडक यस क्षेत्रमा ढलान गरेको छ । 

चाँगुनारायण नगरपालिका-५ छालिङका वडाध्यक्ष जयन्द्र खड्काले छालिङमा धेरै प्रयासपछि सडक कालोपत्र गर्न सुरुवात भएको बताए । उनले सैनिक प्रतिष्ठानबाट सुरु भएको भए पनि वडा कार्यालयसम्म बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्न वडाले रु एक करोड ५० लाखको बजेटमा काम सुरु गरेको उल्लेख गर्ए । उपत्यका विकास प्राधिकरणले चालु आवमै यहाँका सबै सडक कालोपत्र सम्पन्न गर्ने योजना बनाएको उनको भनाइ छ । 

चालु आवबाटै यहाँ सार्वजनिक यातायात सञ्चालन गर्ने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ