arrow

बाढीले बगाएको खानेपानी योजना सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
drinking-water.jpeg

भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । 

बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए ।
 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थलको पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्‍याएको हो । 

बन्द अवस्थामा रहेको आयोजना सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजनाका अध्यक्ष उद्धवराज त्रितालले बताए ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका छन् । अहिले सबै परिवारमा पाइप जडान कार्यसम्पन्न भएकाले केही दिनभित्र सबै परिवारमा पानी वितरण हुने उनले बताए । 

“निर्माणको अन्तिम अवस्थामा रहेको आयोजना बढीले बगाएपछि हामीलाई पानीको समस्या थियो”, अध्यक्ष त्रितालले भने, “पुनः निर्माण गरेर पानी बस्तीमा पुर्‍याएका छौँ । अहिले यहाँको पानीको समस्या हटेको छ ।” 

बाढीले क्षति पुगेको आयोजनाको पुनःनिर्माण भएर बस्तीमा पानी पुगेपछि सहज भएको स्थानीयवासी ललित राईले बताए । पानी नहुँदा समस्या भइरहेको अवस्थामा कार्यालयको सक्रियताले पुनः बस्तीमा पानी पुगेपछि सहजता भएको उनको भनाइ छ । 

“बाढीले आयोजना बगाएपछि बस्तीमा पानीको हाहाकार नै भएको अवस्था थियो”, उनले भने, “आयोजना बगाएको करिब पाँच महिनामा पुनःनिर्माण भएको छ । बस्तीमा पानी पुगेपछि धेरै सहज भएको छ ।”

बाढीले क्षति भएको आयोजनाको पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएकाले अब उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । “निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा यहाँ बाढीले क्षति पुर्‍यायो”, उनले भने, “अहिले पानी पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्‍याएका छौँ । 

निर्माण काम पूरा भएकाले यो योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको छ ।” कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा आर्थिक वर्ष २०७५-७६ बाट यो योजनाको निर्माण थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ