arrow

जापान भूकम्पमा दुई सय भन्दा बढीको मृत्यु, एक सय अझै बेपत्ता, उद्धारमा अझै कठिनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
japan-earthquake-2024-01-02.jpg

टोकियो । गत जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको छ । अझै १०० भन्दा बढी बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । 

उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.६ रेक्टर स्केलको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । 

भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरू सामु पुग्ने प्रयास गरिरहेका छन् ।

इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २००  जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता  रहेको बताइएको छ ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो  । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू  रहेको बुझिएको छ ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । 

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।  

मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न  र प्रभावकारी उद्धार कार्य जारी राख्न“ निर्देशन दिएका छन् । 

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ ।  यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति  भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।   

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५०० मानिसको मृत्यु  भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ