arrow

बलात्कारका दोषी सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनले बलात्कारका दोषी पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा पीडित गौशाला–२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ ।

सन्दीप लामिछाने बलात्कार सम्बन्धी मुद्धामा न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला–२६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो ।

गौशाला–२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकीर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले सोमबारदेखि सुनुवाइ थालेको हो ।

गएको पुस १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिबाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । 

तर काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । 

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदनलाई एउटै मुद्दामा राखेर सुनुवाई थालेको छ । मुद्धाको पुनरावेदन प्रक्रियामा रहेकाले सन्दीपले हाल थुना बाहिर बस्ने सुविधा पाएका छन् ।

सन्दीपलाई २०७९ भदौ ५ गते गौशाला २६ माथि बलात्कार गरेको भन्दै काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको थियो । 
 



नयाँ