arrow

इलाममा ५७ प्रतिशत मत खस्यो, यस्तो छ मतगणनाको तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
illam-vote-2081.jpg

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए । 

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ । । “राति १० बजेभित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौँ, मतपेटिका सङ्कलन गरिसकेपछि सर्वपक्षीय बैठक बस्छौँ”, उनले भने, “सो बैठकमा सहमति भएमा तत्काल मतगणना पनि सुरु गर्नेछौँ ।” मतगणना इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह (सिटी हल)मा हुनेछ ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ