arrow

सहकारी र गिरीबन्धु टिस्टेटमा एमाले र रास्वपाबीच मिलेर जाने सहमति भएको छ - गगन थापा [भिडियो]

सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् बैठक अघि बढ्न नसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
gagan-thapa-03-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताको जस्तो भएको टिप्पणी गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले भने, मलाई आज गृहमन्त्रीको प्रश्तुतीले टेलिभिजन प्रश्तोता हो कि गृहमन्त्रीको अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो । किनकि टेलिभिजन प्रश्तोता हुँदा प्रश्नहरु सोध्ने, विषयहरु उठाउने स्वभाविकै कुरा हो । जुन तपाईहरुले पनि गरिराख्नुभएको छ । तर गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाईल खोलिदिउ, म तेरो अनुसन्धान गरिदिउँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृह मन्त्रीले त धमाधम फाईलको पनि खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो । अर्को कुरा पनि उहाँ एकदमै अल्मलिएको पाएँ । गृहमन्त्रीजी र उहाँका पार्टीका साथीहरु पनि । यसमा पनि समिति बनाउनु पर्छ, यसमा पनि समिति बनाउनु पर्छ । मैले यत्रो वर्ष संसदमा रहेँ । सरकारले बस्नेले शक्ति हुन्छ, उसले म अनुसन्धान गर्नसक्छु भन्छ । म दुधको दुध, पानीको पानी छुट्याउँछु भन्छ ।'

थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरीबन्धु टि–स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् । गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरीबन्धु टि–स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर पनि गरे । 

सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूल सो समितिमा नरहने बताएको महामन्त्री थापाको जिकिर थियो । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए । 

महामन्त्री थापाले भने, ‘अनि सरकारलाई अविश्वास गर्नेहरुले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ । अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अव नेकपा एमालेले गरिदिन्छ । किनभने तपाईहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । नेकपा एमालेले सहकारी नउठाउने, तपाईहरुले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानविन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए । उनले सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताए। कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ