arrow

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघरमा धर्ना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
churey-birodh.jpg

काठमाडौँ । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना शुरु गरेको छ । 

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो । चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान शुरु गरिएको जनाइएको छ । 

पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरू अघि सारेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेस प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरूको माग रहेको बताए । उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताए । 

उनले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरूको माग रहेको स्पष्ट पारे । संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिनुभयो । त्यस्तै भूमिहीनको नाममा मासिएको वनजंगलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहीन तथा सुकुम्वासीहरूलाई भूमिको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ