arrow

छ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
earthquake-final-------.jpg

टोकियो । जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु  ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन । 

जापानमा जनवरी १ मा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको  थियो भने एक हजार ४३३ जना घाइते भएका थिए । 

उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्याङ्कमा उल्लेख छ । 

स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँचवटा घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् । 

यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्दपि भूकम्पसँग जुधेर काम गर्न बाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताए ।

प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक उर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक उर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन । 

भूकम्पपछि जोयत्सु र होकुरिकु सिङ्कानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ