arrow

सरकारको लाचारीः भूकम्पबाट छियाछिया भएको जमीन छोड्न पीडितलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
apf-earthquake-jajarkot-208.jpg
फाइल तस्बिर

जाजरकोट । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमीन छोड्न आग्रह गरिएको छ । 

वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनौँ ठाउँ छाडेर सुरक्षितस्थलतर्फ बस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले स्थानीयलाई आग्रह गरेको हो । 

सबैभन्दा बढी नलगाड नगरपालिकाका विभिन्न बस्ती बस्न योग्य नभएको भन्दै भूगर्भविद्ले सिफारिस गरेको आधारमा सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए । भेरी नगरपालिकाका अधिकांश स्थान बस्न योग्य नभएको भौगर्भिक अध्ययनले देखाएको उनले बताए  ।

भूकम्पमा सबैभन्दा बढी नलगाड-१ को चिउरी, पुवाडाँडा, नलगाड-२ को चैतेकाफल, रुमाली, अयाना, वडा नं ४ को औलभारी बस्ती जोखिममा परेका भौगर्भिक अध्ययनले जनाएको नलगाड नगरप्रमुख डम्बर रावतले बताए । उनका अनुसार भेरी-१ को मैदे, चौपानी, चौरलगायत ठाउँ बस्न जोखिमयुक्त छन् ।

बारेकोट गाउँपालिका-६ को नाउली निमयारी, वडा नं ९ को लैखम, वडा नं ५ को तोलखाना, छेडागाड नगरपालिका-२ को डेटकुले, वडा नं ३ को दलितबस्ती, लिवालबस्ती, वडा नं १२ को साँगाचौर बस्ती, वडा नं १३ को बगाहा र शिवालय गाउँपालिका-२ को दुनगारा, वडा नं ३ को सीमा, वडा नं ६ को लुपपाखा, वडा नं ७ को भिउस बस्ती रहेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मङ्गलबार दर्जनौँ ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ ।

भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको नगरप्रमुख रावतले बताए । “पालिकामा फेरि विपद् आएमा राहत सामग्री छैन । यसअघिको भूकम्पमा खर्च भएको रकम अझैँ पालिकाले तिर्न सकेको छैन”, उनले भने ।

भूगर्भविद्ले जोखिम भनि औँल्याएका ठाउँबारे पालिकालाई अझैँ जानकारी नदिएको बैठकमा सहभागी जनप्रतिनिधिले गुनासो गरेका छन् ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भूकम्पमा अस्थायी टहरा निर्माणका क्रममा सङ्घीय र स्थानीय सरकारका फरकफरक निर्देशनका कारण काम गर्न समस्या भएको बताए । उनका अनुसार अस्थायी टहराको दोस्रो किस्ता अझैँ स्थानीयबासीले पाउन सकेका छैनन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ