arrow

प्रचण्डबाट जनार्दनलाई सफाइ- पार्टी फुटाउँदै छ भन्ने भ्रम चिरियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
prachanda-05-01-1.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसकेको बताएका छन् । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशङ्काको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गर्नुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाए । उनले उपमहासचिव शर्मासँग आफूबीच आगो ठस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए । तर त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पुर्‍याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए । 

अध्यक्ष दाहालले भने, ‘कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रूपले सँगै काम गर्दै आएका छौं । तर उनले भनेजस्तो उनको स्वभाव र मेरो के हो भन्ने कुरा त सिङ्गै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने चाहीँ गरेका छौं । अहिले मात्रै होइन । जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि र अहिले पनि । तर यो अगुल्टो ठस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु–यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न, अझ उनको र मेरो बीचमा बेलाबेलामा हुने आशङ्काहरू दूर गर्न र आफ्नो समझदारीलाई मजदुर गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटकको बैठकहरू मैले अलि भिन्न रूपले सञ्चालन गर्ने सोचेको छु । र विवाद र आशङ्काको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरूसँग प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिउँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारी अनुसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मन भित्र भएका सही हुन वा गलत । मनोगत हुन वा वस्तुगत हुन् । जे छन् भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान् नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने सङ्ख्या बढेको छ । मलाई थाहा चाहिँ हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस् भन्ने सोचेर नै बैठकलाई नयाँ ढङ्गले लिएर जाने जमर्को गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्ला कि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन । तर भ्रम नै भ्रम, वरापरीकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरू लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरू लागि नै रहन्छन् । कहीँन कहीँ आशङ्काको तुवाँलो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईँहरूलाई बडो गर्वका साथ भन्न सक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदै छ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईं हामी सबैको लागि खुशीको कुरा हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ