arrow

सचेतक तथा समिति सभापतिहरूसँग सभामुखको छलफल

विचाराधीन विधेयक आगामी अधिवेशन अगावै समितिबाट पारित गर्न निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
sachetak-samsad-meet.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधीन रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिएका छन् । मङ्गलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दलका प्रमुख सचेतक, सचेतक तथा समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई आगामी अधिवेशन अगावै पारित गर्न निर्देशन दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुखले समितिमा रहेका विधेयकहरू आगामी अधिवेशनमा अनिवार्य रूपमा सदनमा पेस गर्न निर्देशन दिएको जानकारी दिए । छलफलमा समिति सभापतिहरूले सांसदहरूको बैठकमा अनुपस्थिति भएका कारण कोरम पुग्नै समस्या परिरहेको भन्दै सहजीकरणको लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आग्रह गरेको उनले बताए । 

उनले भने – ‘समितिमा रहेका विधेयकहरूलाई अब आउने अधिवेशनमा अनिवार्य रूपमा ती विधेयकहरूलाई सदनमा पेस गर्नुपर्ने भनेर निर्देशन नै दिएका छन् । हामी समिति सभापतिहरूले कुन समितिमा कति ओटा विधेयक छ ? त्यो विधेयक पास गर्न के समस्या रहेको छ ? र अहिलेसम्म कति काम भएको छ ? भोलिको दिनमा कति दिनमा पास गर्न सक्छौँ भन्ने सभामुखको जिज्ञासामा आ–आफ्नो स्तरबाट जवाफ दियौँ । सबै सभापतिहरूको साझा कुरा, बैठकमा कोरम पुगिरहेको छैन । समिति बैठक बस्ने अप्ठ्यारो छ । बैठक बस्दा खेरी चिया, नास्ता समेत समितिलाई अपmअप्ठ्यारो छ, यसमा गम्भीर रूपमा यो समस्या समाधान गरिनुपर्छ भन्ने कुरा आएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले समिति बैठकमा कोरम नपुग्दा सम्बन्धित समितिले आग्रह गरे बमोजिम दलहरूले सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरिएको बताए । उनले सबै सांसदहरूलाई संसदीय समितिको काममा केन्द्रित हुन भूमिका खेल्ने र विधेयकहरूलाई अगाडी बढाइने बताए । त्यस्तै गरी, बैठकले विभिन्न ४४ देशका संसद्सँग भएको ‘पार्लियामेन्ट्री फ्रेन्ड्ससिप ग्रुप’का लागि संयोजक तोक्न दलहरूका बिचमा भागबन्डा गरिएको पनि जानकारी दिए । 

उनले भने – ‘विचाराधीन रहेका १५ वटा विधेयकहरू समितिमा भएका जुन छन्, तिनलाई कसरी छिटोभन्दा छिटो अगाडी बढाउने भन्ने विषयमा प्रमुख सचेतकसहित विधेयकहरू चाप रहेका केही समिति सभापतिलाई पनि हामीले छलफलमा बोलायौँ । र छलफल गर्‍यौँ । सभापतिहरूको बैठकमा कोरम पुर्‍याउनका लागि सम्बन्धित दलले सहजीकरण गरिदिए हुन्थ्यो भन्ने उहाँहरूको अपिल छ । कोरम नपुगेर बैठक बस्न नसकेको कुरा त्यो पाटो उजागर भएको छ । समितिको बैठक बस्नु पूर्व सम्बन्धित दललाई जानकारी भएको अवस्थामा हामीले बैठकलाई आफ्ना सम्बन्धित दलको माननीयज्युहरुको पुनः उपस्थित गराउने कुरामा सहजीकरण गर्छौँ र बैठकको प्रभावकारितामा दलको तर्फबाट खेल्नुपर्ने भूमिका खेल्छौँ । सबै सांसदहरूले पनि समितिको काममा ध्यान दिन पनि भन्छौँ । विधेयकहरू अगाडी बढाउने कुरा भएको छ । विभिन्न ४४ वटा देशका संसद्सँग पार्लियामेन्ट्री फ्रेन्ड्ससीप ग्रुप निर्माण गर्दै आएका छौँ । यो पटक पनि ती सबै देशमा पार्लियामेन्ट्री फ्रेन्ड्ससीप ग्रुप बनाइसक्यौँ । ग्रुपमा दलहरूले सदस्य पठाइसक्यौँ तर संयोजक तय गर्न बाँकी छ । आजको बैठकमा संयोजकको विषयमा छिटो निर्णय गरौँ भन्ने भएको छ । कांग्रेसले १४ वटा देशमा नेतृत्व गर्नुहुनेछ । एमालेले १२ वटा, नेकपा(माओवादी केन्द्र)ले ६ वटा, रास्वपाले ४ वटा यसरी दलको शक्तिको आधारमा संयोजक निर्धारण भएको छ । विधेयकलाई पारित गरेर अगाडी बढाउने कुरामा यो बीचको समयलाई सदुपयोग गर्छौँ ।’

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले समिति बैठकमा अनुपस्थित हुने सांसदहरूको बारेमा ठोस रूपमा जानकारी गराउन संसद सचिवालयलाई आग्रह गरिएको बताए । उनले समिति बैठकमा कोरम पुर्‍याउनका लागि दलको तर्फबाट पहलकदमी लिने पनि बताए । 

उनले भने – ‘विशेष गरेर विधेयकलाई समितिबाट कसरी व्यवस्थित गरेर अगाडी बढाउने लगायत संसद्लाई प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हामीसँग सुझाव लिनुभएको थियो । हामीले सुझाव दियौँ, कोरमको समस्या भयो भने समितिहरूका बैठक बस्नु अघि सबै दलका प्रमुख सचेतक÷सचेतकलाई जानकारी दिएमा हामी पहल कदमी गर्छौ भन्यौँ । अनुपस्थितिको समस्यामा को–को कसरी अनुपस्थित भएको हो ठोस रूपमा आउनुपर्‍यो । विधेयकहरू कुन–कुन समितिले पारित गरिरहेका छैनन् भन्ने पनि हेर्नुपर्‍यो भनियो । सभामुखज्यूले दलहरूलाई पनि सूचना दिन्छौँ । समितिमा अनुपस्थित भएका माननीय सदस्यहरूको जानकारी पनि गराउन सचिवालयलाई निर्देशित गर्नुभयो । त्यसका आधारमा समितिका कामहरूलाई व्यवस्थित बनाएर अगाडी बढाउने विषयमा कुरा भयो ।’

बैठकमा बोल्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले अब समिति बैठक नरोक्ने गरी अघि बढ्ने बताए । विधेयकहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने छलफलको निष्कर्ष रहेको बताए । उनले भने – ‘कोरम नपुग्दा अगाडी बढाउन सकिएको छैन । आगामी दिनमा यस्तो नहोस् भन्नेमा सभामुखले छलफल राख्नुभएको । अब सचेतकहरूले पनि सहयोग गर्नुहुन्छ । अब समिति रोकिनु हुँदैन भन्ने छलफल गर्‍यौँ । समिति बैठक बस्नु जरुरी देखियो । मसँगै ५ वटा विधेयक छ । यी विधेयकहरूलाई चाँडोभन्दा चाँडो छलफल गरेर पास गरेर लानका लागि हामीले सर्वसम्मत पारित गरेका छौँ । हामी यसैमा लाग्छौँ ।’

सभामुखले बोलाउनुभएको छलफलमा दलका प्रमुख सचेतक,सचेतक,समिति सभापतिहरूको अलावा उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संघीय संसद सचिवालयका महासचिव लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ