arrow

सरकारको सय दिन

सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ- प्रम ओली [भिडियो]

देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने काम शुरु भएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
kp-oli-07-07.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने अफवाह फिँजाइ दिवा स्वप्न नदेख्न आग्रह गरेका छन् । सरकार सञ्चालन गरेको सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गरे । उनले सय दिन पूरा गरेपछि नभई सरकार बनेकै दिनदेखि सरकारविरुद्ध विरोध शुरु भएको भन्दै देशमा साम्प्रदायिक विद्वेष खडा काम शुरु भएको बताए । 

अराजनीतिक बोली र व्यवहारबाट सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहस नहस पार्ने र नयाँ उद्योग स्थापना हुन षड्यन्त्रहरू सफल हुन नदिने बताए । उनले नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नरहेको बताए । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिने र अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा बिस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्ने बताए । 

उनले भने, ‘म यहाँ एउटा तथ्य उल्लेख गर्न चाहन्छु– सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहस नहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने । अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने छ । साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्ने छ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरूलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउने छ । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ । हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरूले ब्युरोक्रेसी नै अलमलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन् । त्यसरी सुनाइएका कुराहरूलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो । ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवज्यूहरू यहीँ हुनुहुन्छ । उहाँहरू पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ । सीमित स्रोतसाधन, विरासतमा प्राप्त भएको बिग्रँदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बाबजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई शीघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको छ ।’

प्रधानमन्त्री ओलीले सीमित स्रोतसाधन, विरासतमा प्राप्त भएको बिग्रँदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बाबजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई शीघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको बताए । उनले बारम्बार सरकार फेरबदलका घटनाहरूले ब्युरोक्रेसी नै अलमलिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ