- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरु नियुक्ति आउँदो साताभित्र हुँदैछ । आगामी कार्तिक २२ गतेसम्म प्रमुख आयुक्त र दुई आयुक्तहरुको नियुक्ति गर्नुपर्नेछ । सामान्यतया वर्तमान पदाधिकारीहरुको समय सकिनु एक महिनाअघि नै आगामी पदाधिकारीको नियुक्ति गर्ने चलन छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ ।
आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ । यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रविधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ ।
२०६५ सालदेखि शुरु भएको राष्ट्रिय सूचना आयोगमा तेस्रो कार्यकाल सकिन थालेको हो । अब बन्न पदाधिकारीहरु चौथो कार्यकालका लागि हुन् ।
पहिलो प्रमुख सूचना आयुक्त विजय कसजू हुन् । श्री आचार्य र सबिता भण्डारी बराल सूचना आयुक्त भएका थिए । उनीहरुको २०६५ साल जेठ २४ गतेदेखि २०६९ साउन २ गतेसम्म कार्यकाल रहेको थियो ।
दोस्रो कार्यकालका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा थिए । किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना आयुक्त थिए । उनीहरुको कार्यकाल २०७१ पुस ३० देखि २०७६ पुस २३ गतेसम्म रहेको थियो ।
तेस्रो कार्यकालका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ हुन् भने कमला ओली थापा र रत्नप्रसाद मैनाली आयुक्त हुन् ।
उनीहरुको कार्यकाल सकिन लागेकाले त्यसको एक महिना अगाडि नै आगामी कार्यकालका लागि तीन पदाधिकारी नियुक्त गर्नुपर्नेछ ।
आयोग स्रोतका अनुसार प्रमुख आयुक्तका लागि १६ जनाको आवेदन परेको छ । त्यस्तै आयुक्तका लागि २९ जनाको आवेदन परेको छ ।
को को हुन् १६ जना ?
प्रमुख आयुक्तका आवेदकहरु सबै आफ्ना विधाका अनुभवी हुन् । १६ जनामा चन्द्रमान श्रेष्ठ, धर्मेन्द्र झा, प्रदीपराज कँडेल, राममाया कुँवर, हरिप्रसाद भट्टराई, होमप्रसाद लुइँटेल, हरिप्रसाद बस्याल, हिरामणि शर्मा, डा.महेन्द्र विष्ट, रमेश पौडेल, डा दामोदर रेग्मी, रामप्रसाद थपलिया, महेश्वर काफ्ले, डा. सुरेशप्रसाद आचार्य, मेघराज आचार्य र अखण्ड भण्डारी रहेका छन् ।
चन्द्रमान श्रेष्ठ पूर्व सचिव हुन् । कर्णाली प्रदेशको प्रमुख सचिवबाट सेवा निवृत्त हुन् ।
धर्मेन्द्र झा नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । उनी हाल राष्ट्रिय समाचार समिति राससका अध्यक्ष हुन् । राससमा उनको कार्यकाल अझै डेढ वर्ष बाँकी छ ।
प्रदीपराज कँडेल सहसचिबाट सेवा निवृत्त भएका पूर्व प्रजिअसमेत हुन् ।
राममाया कुँवर महालेखा नियन्त्रकको कार्यालयमा नायब महालेखा नियन्त्रकबाट सेवा निवृत्त हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव (नेपाल सरकारका सहसचिव) विनोदबहादुर कुँवरकी पत्नी हुन् ।
होमप्रसाद लुइँटेल नेपाल सरकारका सहसचिवबाट निवृत्त कर्मचारी हुन् । उनी पर्यटन विभागको महानिर्देशक भएका थिए ।
हरिप्रसाद बस्याल सरकारको सचिवबाट सेवा निवृत्त हुन् । हालका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उनी गण्डकीका प्रमुख सचिव थिए । त्यसपछि उनी संचार सचिवबाट सेवा निवृत्त भएका हुन् ।
हिरामणि शर्मा सरकारका पूर्व सहसचिवबाट सेवा निवृत्त कर्मचारी हुन् ।
डा.महेन्द्र विष्ट नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । उनी नेपाल टेलिभिजनका पूर्व अध्यक्ष हुन् ।
रमेश पौडेल नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष हुन् भने अहिले नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख छन् । उनी लामो समयदेखि पोखराबाट गोरखापत्र संस्थान र नेपाल टेलिभिजनमा स्ट्रिन्जरको रुपमा रहे ।
डा दामोदर रेग्मी गण्डकी प्रदेशको प्रमुख सचिव थिए । उनी नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भए ।
रामप्रसाद थपलिया नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुन् ।
महेश्वर काफ्ले महालेखा नियन्त्रक कार्यालयकको नायब महालेखा नियन्त्रकबाट सेवा निवृत्त हुन् ।
डा. सुरेशप्रसाद आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । सूचनाको हकका लागि उनले महासंघको सभापति हुँदादेखि नै लड्दै आएका हुन् । आयोग बन्नुमा उनको पनि ठूलो हात छ । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक छन् ।
मेघराज आचार्य पूर्व सञ्चारकर्मी एवं अधिकारकर्मी हुन् । उनी माओवादीको सशस्त्र द्वन्द्वका पीडित पनि हुन् ।
अखण्ड भण्डारी अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हुन् ।
को होला अबको अध्यक्ष
अध्यक्षका लागि १६ जना आकांक्षी रहे पनि यसमा राजनीतिक प्रभाव पर्ने निश्चित छ । विशेषगरी संचार मन्त्रालय एमालेको भागमा रहेको छ भने सत्ता गठबन्धन एमाले र कांग्रेसको छ ।
यसरी हेर्दा अहिले निवेदन दिनेहरु सेवा निवृत्त प्रशासकहरु र पत्रकारिताको पृष्ठभूमि गरी दुई थरीमात्र छन् ।
तिनीहरु विशेष गरी दुई दलसँग बढी निकट रहेको पाइएको छ ।
अहिले यिनै दुई दल र विशेष गरी संचार मन्त्रालय एमालेको रहेका हुनाले आयोगमा नियुक्त हुने प्रमुख आयुक्त र दुई आयुक्तमा एमालेले प्रमुख आयुक्त र एक आयुक्त लिने तथा कांग्रेसले एक आयुक्त लिने पूर्व सहमति जस्तै हो ।
तर पछिल्लो समय भने परिस्थिति बदलिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अबका नयाँ स्थानमा एमालेलाई राख्ने गरी अहिले कांग्रेसले प्रमुख आयुक्तसँगै एक आयुक्त लिने र एमालेले एक आयुक्त मात्रै लिने सहमति भएकोसमेत बताइएको छ ।
यसो हुँदा प्रमुख आयुक्तमा कांग्रेसबाट डा सुरेश आचार्यको सम्भावना बलियो देखिएको छ ।
एमालेले नै लिएका खण्डमा भने राममाया कुँवरको सम्भावना बलियो रहेको देखिन्छ ।
नयाँ मिडिया काउन्सिल आउँदै गर्दा त्यसमा एमालेले आफ्नो पकड जमाउने गरी सूचना आयोगको नेतृत्व छाड्न सक्ने अवस्था आउने बताइएको छ ।
अहिलेसम्म ‘डेमोक्र्याट’ बाट बनेका छैनन् कोही प्रमुख आयुक्त
राष्ट्रिय सूचना आयोगको पृष्ठभूमि लामो छैन । यसको जरुरी कांग्रेस निकटकाहरुले बढी देखेर पहल थालेका थिए । तर अहिलेसम्म ‘डेमोक्रयाट’ निकटकाहरु कोही पनि प्रमुख आयुक्त बन्न पाएका छैनन् ।
कसजूलाई माओवादी केन्द्रले प्रमुख बनाएको थियो । बास्कोटा र गुरुङलाई एमालेले प्रमुख आयुक्त बनाएको थियो ।
यसलाई सन्तुलनमा ल्याउनका लागि पनि अहिले ‘डेमोक्रयाट’ अनुहार आउने सम्भावना बढेको आयोग स्रोत बताउँछ ।
आयुक्तमा २९ जना
आयुक्तमा २९ जनाले आवेदन दिएका छन् । जसमा प्रमुख आयुक्तमा निवेदन दिएकाहरु पनि रहेका छन् ।
प्रमुख आयुक्त नभएका खण्डमा आयुक्त भए पनि खाने मनस्थितिले आयुक्तमा पनि निवेदन दिएको बुझ्न सकिन्छ । आयुक्तमा पनि पूर्व प्रशासक र सञ्चारकर्मीहरुको बाहुल्यता रहेको छ ।