- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरू गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभाबी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए ।
उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए । नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरू गर्नुपर्ने भन्दै हतारमा मेसिनहरूको प्रयोग गर्नु घातक हुने बताए । देशको भौगोलिक अवस्थितिबारे गहन रूपबाट सोच्न जरुरी रहेको उल्लेख गरे । तीन तहकै सरकार मिलेर काम गरे मात्रै सोचेअनुरुपको नतिजा निस्किने बताए । विकासको लागि सडक सुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिए ।
उनले भने,‘गाउँपालिका तथा नगरपालिकाहरूमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरू देखिरहेका छौं । बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढी, पहिरोले समेत पुष्टि गरिसकेको छ । त्यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधिहरू प्रयोग गरेर बाटोहरू निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाई छ । त्यसमा पनि जुन हिसाबको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका कामहरू गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । हतारमा मेसिनहरूको प्रयोग मात्र गरेर हुँदैन । विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्यो नि त ।’