- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी कृषि प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन् ।
सूर्यविनायक नगरपालिका-३ बालकोटमा आयोजना गरेको १५ दिने ‘प्रथम सूर्यविनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव-२०८१’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक र सम्पदाको धरोहर मात्रै नभई कृषिको भण्डारण पनि भएको बताउँदै उनले भक्तपुरबाट उत्पादित हरिया तरकारीलगायत कृषि उत्पादनले काठमाडौँमा ठूलो पहिचान बनाएको बताए ।
देश आयातमुखी भएको भन्दै उनले कृषि उत्पादनमा निर्यातमुखी बनाउन सके मात्रै देश र जनताको आर्थिक विकासमा फड्को मार्ने बताए ।
मुख्यमन्त्रीले मेलाबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, उत्पादनको प्रदर्शनी र बिक्रीले आर्थिक परिचालनमा टेवा पुग्ने बताए ।
मुख्यमन्त्रीले बागमती प्रदेश सरकारले यस्ता मेलाबाटै प्रदेशका उत्पादनको प्रचारप्रसार गर्न लक्ष्य लिएका बताउँदै यस प्रकारको मेलालाई सरकारले साथ र सहयोग दिने बताए ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले आर्थिक उन्नति र पर्यटन विकासमा मेला कोशेढुङ्गा सावित हुने बताए ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले मेलाले सस्तोमा विभिन्न सामान खरिद गर्न र स्थानीय उत्पादनको बिक्री वितरण एवं बजारीकरणमा टेवा पुग्ने बताए ।
मेलामा घरायसी दैनिक उपभोग्य सामान, लत्ताकपडा, कृषि उत्पादनलगायत विभिन्न सामानका ७० वटा स्टल रहेको र मेला मङ्सिर २२ गतेसम्म सञ्चालन हुने संयोजक संगम लामाले जानकारी दिए ।
कार्यक्रममा सभापति नवराज ढुङ्गानाले प्रवेश निःशुल्क गरिएको मेलामा बिभिन्न सामानको प्रदर्शनी गर्नुका साथै विभिन्न लोकप्रिय एवं ख्याति प्राप्त कलाकारको साङ्गीतिक प्रस्तुतीहरू रहेको बताए ।