arrow

संसद्‌मा फर्कने कसरत

सभापतिको जिम्मेवारीमा फर्किएसँगै रविले भेटे सभामुखलाई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
ravi-lamichhane-12-19.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको जिम्मेवारीमा फर्किएसँगै रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । संसद्को बाटो खोल्दिन आग्रह गर्दै सभापति लामिछानेले सभामुख घिमिरेसँग भेट गरेका हुन् । 

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।

मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए । उनले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए ।

 पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए । 

सभापति लामिछानेले भने, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद नै हो । सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ । कानूनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतीको सम्पत्तिलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दूषित मनसाय राखी दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनु हुँदैन भनेर कानूनी कुरा राखेको थिएँ । एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झैझगडा नै गर्ने भन्ने हुँदैन । पहिलो संसद्को विषय संसद्बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भने । मैले उनलाई त्यसो भए आज सदनमा छलफल गरौँ न । एक पटकमा कति जनासम्मलाई निलम्बन गर्न पाइने हो ? किनभने मुद्दा टेकाइदिए त पुग्यो । मुद्दा किनारा लाग्न कति वर्ष लाग्छ थाहा छ नि । सरकारले भोलि प्रतिस्पर्धा हुँदा अर्को पार्टीको किन आफ्नै पार्टीको नेता प्रतिस्पर्धामा छ भने त्यसलाई सिध्याने हतियार बन्यो । यो अवस्थामा नजाऔँ भनेर अनुरोध गरेको छु । उनले सकारात्मक रूपमा लिनुभयो । म यहीँ छु म थुनामा पनि छैन । मलाई चितवनका जनताले दुई दुई पटक मत दिएर जिताएर पठाएका छन् । सरकार फेरि यसो भन्दा थुन्ने कसरी भनेर लाग्ला ? त्यहाँ उता झुन्ड्याएर राखेको छँदै छ । म एउटा कुरा भनेर जान्छु, बिहीबारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ । सम्भव छ ?’

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुङ्गिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे । उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे । उनले सबै कुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताए ।

उनले भने.'पर्साको विलम्बलाई तपाईँहरू र आम नागरिकहरूले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसाबले हेरेको छु । मैले सकेसम्म कानूनी प्रक्रियाहरू टुङ्गिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नाङ्गो भइसक्यो, देखिएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ