arrow

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन देशभरका स्थानीय तहलाई मन्त्रालयको पत्राचार

राष्ट्रिय सेवक र संगठित क्षेत्रका कर्मचारीको स्वास्थ्य बीमा कार्यक्रम शुरु, पछिल्लो समय नेपालमा कोभिड-१९ संक्रमणका फाटफुट घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
health-ministry.png

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीहरूको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै असार १ गते देशभरका गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरी यो कार्यक्रममा अनिवार्य आबद्ध हुन आग्रह गरिएको जानकारी दिए।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनको सुझावका आधारमा यो कार्यक्रम शुरु गरिएको हो। प्रवक्ता बुढाथोकीले राष्ट्र सेवक र संगठित क्षेत्रका कर्मचारीहरूलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदा स्वास्थ्य बीमा कोषमा पर्याप्त रकम जम्मा हुने र यसले बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा हाल स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू छुट्टाछुट्टै ऐनबाट सञ्चालित हुँदा एकरूपता नभएको कुरालाई मनन गरी मन्त्रालयले सबै प्रतिष्ठानलाई एकीकृत रूपमा सञ्चालन गर्नका लागि विधेयकको मस्यौदा तयार पारेको छ। प्रवक्ता बुढाथोकीले मस्यौदा विधेयकमा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा दफा, प्रस्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुष्ट्याइँसहितको ढाँचामा पठाउन सूचना प्रकाशन गरिएको जानकारी दिए।

प्रवक्ता बुढाथोकीका अनुसार पछिल्लो समय नेपालमा कोभिड-१९ संक्रमणका फाटफुट घटनाहरू देखिएका छन्। विशेषगरी भारतबाट फर्कनेहरूमा सीमा नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गर्दा संक्रमण देखिएको हो। सन् २०२५ जनवरी १ देखि जुन १९ सम्म १६४ जनामा संक्रमण पुष्टि भएको र पछिल्लो एक सातामा ३३ वटा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यस अवधिमा २५ जिल्लाबाट कोभिड संक्रमणका घटनाहरू रिपोर्ट भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ