निजामती सेवा विधेयक छानबिन समितिको कार्यविधि तयार, बिहीबार बस्ने बैठकले अन्तिम रूप दिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
782
Shares
काठमाडौं। सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले आफ्नो कार्यविधिलाई अन्तिम रूप दिएको छ।
बुधबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिबारे मंगलबारदेखि काम सुरु भएको र आजको बैठकले यसलाई अन्तिम रूप दिएको जानकारी दिए। अब यसलाई पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको 'कुलिङ पिरियड' सम्बन्धी व्यवस्थामा गडबडी भएको थियो। यस गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो।
संसदको नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको यस समितिमा नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार संयोजक छन्। समितिमा नेपाली काँग्रेसबाट संयोजक परियारसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की सदस्य छन्।
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ। समितिको अर्को बैठक बिहीबार सवा १२ बजे बस्नेछ।