जनकपुरधाममा खुकुरी प्रहार गरी किशोरीको हत्या आरोपमा एक जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
758
Shares
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन्। उनलाई साउन १४ गते राति करिब साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त साहलाई सार्वजनिक गरेको हो।
अभियुक्त साहले गत साउन १२ गते राति करिब साढे ११ बजे आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा साउन १३ गते राति साढे १२ बजे मृत्यु भएको थियो। मृतककी आमा आशा यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। राधा यादव भने उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार, रामबाबुले यसअघि पनि आफ्नी श्रीमतीको हत्या आरोपमा ५ वर्ष जेल सजाय भोगिसकेका छन्। २०७७ मा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए। चिनजानपछि उनीहरू जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए। तर, पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि रामबाबुले आक्रोशमा आएर यो घटना घटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।