arrow

अमलाको फेदमा सामूहिक भोजन गरेर कुष्माण्ड नवमी मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
mithila-chitrakala-82-311.jpg

महोत्तरी। मधेस प्रदेशका जिल्लाहरूमा आज (बिहीबार) कुष्माण्ड नवमी पर्व मनाइँदैछ। अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा सामूहिक भोजन र रमाइलो चाडबाडका रूपमा मनाउने परम्परा रहेको छ।

यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खानेकुरा पकाएर सपरिवार खाने मैथिल परम्परा छ। घर नजिकै, बगैँचा वा वनक्षेत्रमा रहेको अमलाको रूखमुनि एक दिन पहिलेदेखि नै सामूहिक भोजनको तयारी गरिन्छ। खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्नुलाई शुभ मानिने जनविश्वास छ। पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन छ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णवले यो पर्वले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गरेको बताए। उनले धातृ (अमला) अत्यन्त गुणकारी फल मानिने र जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउने हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएको बताए।

यस पर्वसँग जोडिएर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलनमा छ। संस्कृतिविद् ध्रुव रायका अनुसार कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ। यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको हो।

मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दू मैथिल जनविश्वास रहेको बताए। यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने भएकाले यसलाई अक्षय नवमी र इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी पनि भन्ने गरिएको उनले बताए। अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ