राजनीतिक उद्देश्य पूरा गर्नमात्र बजेट बनाउने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
767
Shares
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिए ।
हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय गोष्ठीमा मुख्यमन्त्रीले राजनीतिक उद्देश्य पूरा गर्नमात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने खाँचो औंल्याए ।
उनले भने, ‘लगानीबाट प्रतिफल आउनुपर्ने र त्यस प्रतिफललाई पुनः अन्य क्षेत्रमा लगानी गर्नसक्ने वातावरण बनाउनु नै प्रदेशको समृद्धिको बाटो हो ।’
मुख्यमन्त्री बानियाका अनुसार सातै प्रदेशले आगामी बजेटमा रोजगारी सिर्जना, कर दायरा विस्तार र आय वृद्धिमा केन्द्रित योजना प्राथमिकतामा राख्नुपर्छ । उनले भने, ‘राजनीतिक अवस्था परिवर्तन भए पनि जनताको आर्थिक अवस्था परिवर्तन गर्न कठोर निर्णय लिनुपर्छ ।’
मुख्यमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुक सञ्चालनका लागि दलहरुले आत्मसमीक्षा गर्नुपर्ने र साझा तथा एकल अधिकारको विषयमा अल्झिन नहुने उल्लेख गरे ।
उनले संघीयताको सफल कार्यान्वयनका लागि वित्तीय पक्ष सुदृढ र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
प्रदेशको आर्थिक क्षमता अभिवृद्धि र आन्तरिक स्रोत परिचालनका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ छ ।
कार्यक्रममा सातै प्रदेशको आन्तरिक राजस्व प्रवृत्ति विश्लेषण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
त्यस अवसरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, सातै प्रदेशका अर्थ मन्त्रालयका सचिव, आयोग तथा निकायका महाशाखा प्रमुख र प्रदेश लेखा नियन्त्रक सहभागी थिए ।