काठमाडौँ। पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटधाममा आज बिहानैदेखि शतबीज छर्नेहरूको घुइँचो लागेको छ। मङ्गलबार राति दिवङ्गत पितृको सम्झनामा बत्ती बालेर आज (बुधबार) बिहान उनीहरूले परम्पराअनुसार शतबीज छरेका हुन्।
देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत विभिन्न स्थानबाट भक्तजनहरू शतबीज छर्न आएका छन्। शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा गरी यी विभिन्न सामग्रीहरूलाई शतबीजका रूपमा छर्ने गरिन्छ।