arrow

बागमती प्रदेशको राजस्व : पहिलो चार महिनामा ११.५९ अर्ब सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
bagmati-pradesh-province-3.jpg

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कात्तिक) मा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।

वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले दिएको जानकारी अनुसार, आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करसहित बाँडफाँटबाट कुल रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएको थियो। साउनदेखि कात्तिकसम्ममा भने कुल राजस्व सङ्कलन लक्ष्यको २२.४५ प्रतिशत अर्थात् रु ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार भएको छ।

चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चार महिनामा त्यसको करिब १६.७ प्रतिशत अर्थात् रु एक अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व सङ्कलन भएको छ। यस्तै, सवारी कर शीर्षकबाट आव २०८२/८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८.२ प्रतिशत अर्थात् रु दुई अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व सङ्कलन भएको छ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा रु दुई अर्ब ४९ करोड ५५ लाख ३५ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकोमा रु ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सूचना अधिकारी पौडेलले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान अन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो चार महिनाको अवधिमा त्यसको २३.३७ प्रतिशत अर्थात् रु तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्राप्त भएको बताउनुभयो। चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकोमा चार महिनाको अवधिमा लक्ष्यको २३.७० प्रतिशत अर्थात् रु एक अर्ब १३ करोड २२ लाख २८ हजार मात्र प्राप्त भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ