arrow

समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? यस्तो छ 'सेन्ट लग' विधिको गणित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
suman-ghimires.jpg

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा सार्वजनिक भइसकेपछि अब समानुपातिकतर्फको सिट बाँडफाँड कसरी होला भन्ने सर्वत्र चासो बढेको छ। निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने भएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ सिट पाउनका लागि राजनीतिक दलले कूल सदर मतको न्यूनतम ३ प्रतिशत मत (थ्रेसहोल्ड) अनिवार्य रूपमा कटाउनुपर्ने कानुनी व्यवस्था छ। ३ प्रतिशतभन्दा कम मत पाउने दलहरू सिट बाँडफाँडको प्रक्रियामा सहभागी हुन पाउँदैनन्। थ्रेसहोल्ड कटाएका दलहरूको मतलाई मात्र सिटमा रूपान्तरण गर्ने प्रक्रियामा समावेश गरिन्छ।

सिट बाँडफाँडको प्राविधिक विधि ‘सेन्ट लग’ अनुसार, दलहरूले पाएको सदर मतलाई बिजोर सङ्ख्याहरू (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ। यसरी भाग गर्दा प्राप्त हुने भागफलहरूलाई ठूलोदेखि सानो क्रममा मिलाएर राखिन्छ। समानुपातिकतर्फ जम्मा ११० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठूला ११० वटा भागफलहरू छानिन्छन्। ती छानिएका भागफल जुन दलको हिस्सामा पर्छन्, सोही आधारमा दलहरूले सिट सङ्ख्या प्राप्त गर्छन्। बढी मत ल्याउने दलको भागमा धेरै ठूला भागफल पर्ने भएकाले उनीहरूले धेरै र कम मत ल्याउनेले थोरै सिट पाउने सुनिश्चित हुन्छ।

सिट सङ्ख्या यकिन भइसकेपछि दलहरूले कानुनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) को क्लस्टर मिलाएर तीन दिनभित्र नामावली सिफारिस गर्नुपर्ने हुन्छ। दलहरूले पठाएको नाम बन्द सूचीको क्रम र समावेशी कानुन बमोजिम भए/नभएको निर्वाचन आयोगले छानबिन (भेरिफिकेसन) गर्नेछ। सबै प्रक्रिया कानुनसम्मत देखिएपछि मात्र अन्तिम नामावली घोषणा गरी निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ