arrow

'पुरानो हुनु भनेको खराब हो' भन्ने भाष्य समाजका लागि खतरनाक : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
gagan-19.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय समाजमा 'पुरानो हुनु भनेको खराब र थोत्रो हुनु हो' भन्ने भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

थापाले 'जे पुरानो छ त्यो थोत्रो र जे नयाँ छ त्यो असल' भन्ने तर्क हेर्दा सरल र आकर्षक देखिए पनि यो निकै खतरनाक रहेको बताए। उनले भने, "समाजमा कुनै पनि कुरा जेठो वा पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य निर्माण गरिँदै छ। यदि सिङ्गो समाजले नै यो कुरा ग्रहण गर्न थाल्यो भने हाम्रा परम्परा र इतिहास धरापमा पर्छन् र पुरानोसँग भएको अमूल्य अनुभव हराएर जान्छ।" उनले नयाँ र पुरानोबीचको सन्तुलन बिग्रिएमा इतिहासप्रति अन्याय हुने र भविष्यले सही दिशा नपाउने उल्लेख गरे।

पार्टीको आन्तरिक अवस्थाका बारेमा बोल्दै सभापति थापाले बाहिरबाट हेर्दा नेपाली कांग्रेसको सारा समय भित्रको झगडा मिलाउनमै खर्च भएको जस्तो देखिएको स्वीकार गरे। तर, उनले वर्तमान अवस्थामा कांग्रेसको मुख्य प्राथमिकता भनेको राष्ट्रप्रतिको जिम्मेवारी हुनुपर्नेमा जोड दिए।

सरकार र प्रतिपक्षको भूमिकाका बारेमा चर्चा गर्दै थापाले सरकारको जति जिम्मेवारी हुन्छ, लोकतन्त्र जोगाउन प्रतिपक्षको पनि उत्तिकै भूमिका हुने बताए। उनले प्रतिपक्ष आफ्नो कर्तव्यबाट अलिकति मात्र चुक्यो भने पनि लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै कांग्रेस अब थप जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ