कर्णालीमा विपद्को अवस्था: तीन वर्षमा २७७ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
305
Shares
काठमाडौँ । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा प्रभावित पार्दै आएको छ। बाढी, पहिरो, चट्याङ र आगलागीजस्ता विपद्का कारण यहाँ बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ। पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार कर्णालीमा विपद्का कारण २७७ जनाले ज्यान गुमाएका छन् भने ८३३ जना घाइते भएका छन्। यस अवधिमा चार जना अझै बेपत्ता छन्।
सबैभन्दा बढी मानवीय क्षति भूकम्पबाट भएको देखिन्छ, जसमा १५४ जनाको मृत्यु भएको छ। विशेष गरी २०८० सालको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा अपूरणीय क्षति पुर्याएको थियो। जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै जाजरकोटमा ११८ जना र रुकुम पश्चिममा ७० जनाको मृत्यु भएको छ भने अन्य जिल्लाहरूमा पनि उल्लेख्य क्षति पुगेको छ।
विपद्का कारण कर्णालीले मानवीय मात्र होइन, ठूलो आर्थिक नोक्सानी पनि बेहोर्दै आएको छ। पछिल्लो तीन वर्षमा मात्रै झण्डै तीन अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको तथ्याङ्क छ। आर्थिक वर्ष २०८०/०८१ मा मात्रै भूकम्पका कारण दुई अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। चालु आर्थिक वर्षको नौ महिनामा पनि दुई करोड १० लाख रुपैयाँ बराबरको नोक्सानी भइसकेको छ।
यस अवधिमा ६४ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुग्नुका साथै ६८ हजार ४६८ जना नागरिक विस्थापित भएका छन्। साथै ठूलो सङ्ख्यामा पशुचौपायाको समेत मृत्यु भएको छ, जसले स्थानीयको जीविकोपार्जनमा थप सङ्कट निम्त्याएको छ।
विपद्पछिको पुनस्र्थापनाको अवस्था झनै निराशाजनक देखिएको छ। २०७१ सालको बाढीले सुर्खेतका ९ सयभन्दा बढी परिवार विस्थापित गरेको भए पनि १२ वर्ष बितिसक्दा उनीहरू अझै त्रिपालमुनि जीवन बिताउन बाध्य छन्। मसिना, गिरीघाट र तिखाकुनालगायतका अस्थायी शिविरमा बसिरहेका विस्थापितहरूले स्थायी बसोबासको टुङ्गो नलागेको भन्दै आक्रोश पोखेका छन्।
शिविरमा खानेपानी, शिक्षा र रोजगारीको चरम अभाव हुँदा अधिकांश युवाहरू भारत पलायन भएका छन् भने गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बाँकी छन्। प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र विस्तृत योजना ल्याउने तयारी गरिरहेको बताए पनि विगतको सुस्त कार्यान्वयनको गतिले पीडितहरूमा आशा जगाउन सकेको छैन।