हुम्ला । हिमाली दुर्गम बस्ती नेप्का गाउँ एकै रातको बाढी–पहिरोले तहसनहस बनेको छ । असिना–पानीसहित आएको भीषण बाढीले गाउँको शिक्षा, पशुपालन र खेतीपातीमाथि एकैसाथ प्रहार गर्दा स्थानीय त्रासमा परेका छन् ।
चंखेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको बाढीले डाँफे आधारभूत विद्यालय विद्युत पावर हाउससमेत बगाएको स्थानीयले बताएका छन् ।
विद्यालय, गाउँका गोठ, खेतीयोग्य जमीन, विद्युत तथा पशुचौपायामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर खड्काले जानकारी दिएका छन् ।
बाढी–पहिरोले स्थानीय छक्कबहादुर तामाङका र धनसिंह तामाङको गोठ पुरिँदा भेँडाबाख्रासमेत पुरिएको शंका गरिएको छ । रातिको घटना भएकाले क्षतिको पूरा विवरण आउन सकेको छैन, कोदो खेती हुने अधिकांश जमिन बाढीले बगरमा परिणत गरेको खबर आएको छ ।
स्थानीयका अनुसार लगातार परेको वर्षासँगै आएको बाढीले गाउँको मूल जीविकोपार्जनमै धक्का पुर्याएको छ । पशुपालन र कोदो खेतीमा निर्भर नेप्कावासी अहिले खाद्य संकटको चिन्तामा परेका छन् । विद्यालय बगेपछि बालबालिकाको पढाइसमेत प्रभावित हुने भएको छ ।
घटनापछि मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ । तर सडक पहुँच नहुँदा उद्धार तथा क्षति विवरण संकलनमा कठिनाइ भइरहेको छ ।
नेप्का अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले विस्तृत विवरण आउन केही समय लाग्ने प्रशासनले जनाएको छ । बाढी–पहिरोले ठूलो क्षति पुर्याएको प्रारम्भिक सूचना प्राप्त भएको र स्थानीय तथा प्रहरीमार्फत थप जानकारी संकलन भइरहेको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर खड्काले बताए ।
आज बिहान मेल्छाम प्रहरीचौकीबाट हिँडेको प्रहरी टोली दुर्गम पैदलमार्ग पार गर्दै बिहान १० बजेतिर मात्र घटनास्थल पुग्ने अनुमान गरिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने उनले बताए ।
हुम्ला सदरमुकाम सिमकोट देखि उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकाका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गाउँ सडक सञ्जालबाट अझै टाढा छन् । गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत जोखिमपूर्ण भीर–पाखा पार गर्दै पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
प्राकृतिक विपत्तिले बारम्बार क्षति व्यहोर्दै आएका यी हिमाली बस्तीमा पूर्वसूचना, सुरक्षित संरचना र तत्काल उद्धार संयन्त्रको अभाव फेरि उजागर भएको छ । नेप्काको यो विपत्तिले दुर्गम गाउँहरूको असुरक्षित यथार्थ पुनः सतहमा ल्याइदिएको छ ।