arrow

नेप्का बाढी पहिरोमा क्षतिको विवरण आउँदै

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ जेठ ६ बुधबार
nepka-gau-flood-humla-83-2-6.jpg

हुम्ला । नेप्का गाउँमा गएराति असिनासहित परेको भीषण वर्षापछि आएको बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय वक्त तामाङका अनुसार बाढीले भिमसिंह तामाङका गोठभित्र राखिएका करिब ६० वटा भेडा बगाएको आशंका गरिएको छ ।

बाढीले भिमसिंह तामाङ र लालबहादुर तामाङका दुई घर बगाएको छ भने डाँफे आधारभूत विद्यालय, विद्युत पावरहाउस तथा करिब ३० रोपनी खेतीयोग्य जमीनसमेत पूर्ण रूपमा क्षति भएको स्थानीयले बताएका छन् ।

राति अचानक बाढी आएपछि सम्पर्कविहीन भएका विद्यालयका शिक्षक बसन्त ऐडी र रमेश शाही भने अहिले सुरक्षित रूपमा सम्पर्कमा आएका छन् ।

घटनाको जानकारी पाएपछि मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली बिहानै घटनास्थलतर्फ हिँडेको भए पनि दुर्गम भौगोलिक अवस्था र लामो पैदलमार्गका कारण टोली अझै घटनास्थल पुग्न नसकेको स्थानीयले बताएका छन् । 

क्षतिको यकिन विवरण प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै आउने अपेक्षा गरिएको छ ।

राति हिमाली  दुर्गम बस्ती नेप्का गाउँ एकैरातको बाढी–पहिरोले तहसनहस बनेको हो । असिना–पानीसहित आएको भीषण बाढीले गाउँको शिक्षा, पशुपालन र खेतीपातीमाथि एकैसाथ प्रहार गर्दा स्थानीय त्रासमा परेका छन् ।

चंखेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको बाढीले डाँफे आधारभूत विद्यालय विद्युत पावर हाउससमेत बगाएको स्थानीयले बताएका छन् । 

विद्यालय, गाउँका गोठ, खेतीयोग्य जमीन, विद्युत तथा पशुचौपायामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर खड्काले जानकारी दिए । 

स्थानीयका अनुसार लगातार परेको वर्षासँगै आएको बाढीले गाउँको मूल जीविकोपार्जनमै धक्का पुर्‍याएको छ । पशुपालन र कोदो खेतीमा निर्भर नेप्कावासी अहिले खाद्य संकटको चिन्तामा परेका छन् । विद्यालय बगेपछि बालबालिकाको पढाइसमेत प्रभावित हुने भएको छ ।

हुम्ला सदरमुकाम सिमकोट देखि उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकाका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गाउँ सडक सञ्जालबाट अझै टाढा छन् । गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत जोखिमपूर्ण भीर–पाखा पार गर्दै पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

प्राकृतिक विपत्तिले बारम्बार क्षति व्यहोर्दै आएका यी हिमाली बस्तीमा पूर्वसूचना, सुरक्षित संरचना र तत्काल उद्धार संयन्त्रको अभाव फेरि उजागर भएको छ । नेप्काको यो विपत्तिले दुर्गम गाउँहरूको असुरक्षित यथार्थ पुनः सतहमा ल्याइदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ