आईपीएलको फाइनल आज: डिफेन्डिङ च्याम्पियन बैंगलुरू र गुजरात भिड्दै, कसले जित्ला दोस्रो उपाधि ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
550
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरू र गुजरात टाइटन्सबीच अहमदाबादमा खेलिँदै छ। यो रोमाञ्चक भिडन्त नेपाली समयअनुसार बेलुका ७:४५ बजे देखि शुरू हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने यस खेलमा दुवै टोलीसँग दोस्रो पटक उपाधि जित्ने सुनौलो मौका छ। बैंगलुरूले गत वर्ष आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरात आफ्नो पहिलो सिजन सन् २०२२ मा च्याम्पियन बनेको थियो।
विगतका ८ फाइनल खेलहरू क्वालिफायर–१ जित्ने टोलीले नै आफ्नो पोल्टामा पारेका छन्। त्यस्तै सन् २०१६ यताका सबै फाइनल खेलहरू क्वालिफायर–१ खेल्ने टोलीहरूबीच नै भएका छन्। सन् २०१६ मा हैदराबादले एलिमिनेटर जित्दै उपाधि चुमेको थियो। विगत १८ वर्षको आईपीएल इतिहासमा फाइनल खेलमा २०० भन्दा बढीको स्कोर कहिल्यै चेज (पछ्याउन) सकिएको छैन, जसले गर्दा फाइनलमा २०० भन्दा बढी रन बनाउनुलाई जितको ग्यारेन्टी मानिन्छ। सन् २००८ देखि २०२५ सम्म फाइनलमा ४ पटक २०० भन्दा बढीको स्कोर बनेको छ, जुन कहिल्यै चेज हुन सकेन।
क्वालिफायर–१ मा बैंगलुरूले गुजरातलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको थियो। चालु सिजनको लिग राउन्डमा दुवै टोली दुई पटक आमनेसामने भएका थिए। अप्रिल ३० मा भएको खेलमा गुजरातले आफ्नो घरेलु मैदानमा ४ विकेटको जित निकालेको थियो भने अप्रिल २४ मा भएको खेलमा बैंगलुरूले आफ्नो होमग्राउन्डमा ५ विकेटको जित दर्ता गरेको थियो। समग्र रेकर्डको कुरा गर्दा बैंगलुरू एक जितले अगाडि छ। यी दुई टोबीच हालसम्म ९ वटा आईपीएल खेल भएका छन् । जसमध्ये बैंगलुरूले ५ र गुजरातले ४ खेल जितेका छन्। नरेन्द्र मोदी स्टेडियममा भने दुवैको रेकर्ड बराबरी अर्थात् १–१ को जित छ।
गुजरातका मुख्य खेलाडी शुभमन गिलले क्वालिफायर–२ मा राजस्थानविरुद्ध १०४ रनको शतकीय पारी खेलेका थिए र उनले यस सिजन ६ वटा अर्धशतकसहित १५ खेलमा ७२२ रन बनाइसकेका छन्। अर्का खेलाडी साई सुदर्शनले राजस्थानविरुद्ध ५८ रन बनाउनुका साथै गिलसँग मिलेर ७७ बलमा १६७ रनको शतकीय साझेदारी गरे र उनले १६ खेलमा ७१० रन बनाएका छन्। यस सिजन २८ विकेट लिँदै शीर्ष स्थानमा रहेका कगिसो रबाडाले राजस्थानविरुद्ध वैभब सूर्यवंशी (९६ रन) सहित २ विकेट लिएका थिए। गुजरातका लागि चिन्ताको विषय भने राजस्थानविरुद्धको खेलमा बलर मोहम्मद सिराजको काँधमा देखिएको समस्या हो, जसले गर्दा फाइनलअघि उनको फिटनेस टोलीका लागि टाउको दुखाइ बनेको छ।
बैंगलुरूका तर्फबाट विराट कोहलीले अघिल्लो खेलमा गुजरातविरुद्ध ४३ रन बनाएका थिए र उनले यस सिजन १५ खेलमा १ शतक र ४ अर्धशतकसहित ६०० रन पूरा गरिसकेका छन्। त्यस्तै रजत पाटीदारले क्वालिफायर–१ मा गुजरातविरुद्ध अविजित ९३ रन बनाउँदै टोलीको स्कोर २५० पार गराएका थिए। उनले यस सिजन १४ खेलमा १९६।७६ को स्ट्राइक रेटमा ४८६ रन बनाएका छन्। पर्पल क्यापको दौडमा दोस्रो स्थानमा रहेका भुवनेश्वर कुमारले १५ खेलमा २६ विकेट लिएका छन्, जसमा गुजरातविरुद्धको अघिल्लो खेलको २ विकेट पनि सामेल छ।