गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः शुरू
हालसम्म ५५ प्रतिशत प्रगति
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
116
Shares
काठमाडौँ । बजेट निकासमा भएको ढिलाइका कारण एक महिनादेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेको थियो।
बागमती प्रदेश सरकारबाट रु। ९ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कम्पनीलाई बिल अनुसारको सम्पूर्ण भुक्तानी भइसकेको छ। रङ्गशाला निर्माणको जिम्मेवारी हिमालयन कालिञ्चोक बिबिआर जेभीले पाएको छ।
भरतपुर महानगरपालिका र निर्माण कम्पनीबिच वि।सं। २०८१ असारमा सम्झौता भएको थियो। कुल रु। ७५ करोड ५० लाख ९१ हजार १८९ को लागतमा बन्न लागेको यस रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने म्याद आगामी २०८३ पुस २२ गतेसम्म रहेको छ। हालसम्म रङ्गशालाको कुल ५५ प्रतिशत काम पूरा भएको छ।
शुरूवातमा धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण शुरू गरेको भए पनि पछि फाउन्डेसनले आर्थिक अभावका कारण काम अगाडि बढाउन नसकेपछि भरतपुर महानगरपालिकाले बोलपत्र (टेन्डर) मार्फत यसको बाँकी काम अघि बढाएको हो।