काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसानहरू ठूलो मारमा परेको भन्दै समस्या समाधानका लागि कठोर कदम आवश्यक रहेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँदरले बालीनाली सखाप पारिरहेका कारण किसानको समस्या समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने जिकिर गरेका छन् ।
उनले करिब ६०० वटा बाँदर मारेको आरोपबारे सोधिएको प्रश्नमा आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा त्यसमा सहयोग गरेको स्वीकार गरेका छन् ।
पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा उठाइरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यवहारिक समस्या बुझ्नुपर्ने बताएका छन् ।
उनले एनिमल लभर्सहरू माइतीघरमा आन्दोलनमा बसे पनि वास्तविक समस्या किसानका मकैबारी र अलैँची बारीमा रहेको दाबी गरेका छन् ।
सांसद राईले भनेका छन्, “मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ । छ सय होइन, अब छ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ । लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ ।”
उनले आफू कुनै पनि कानूनी कारबाही वा जेल जान नडराउने पनि बताएका छन् । साथै बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँमा गएर किसानको अवस्था बुझ्न चुनौती दिएका छन् ।