रेनुका नगरकोटीलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीको अवार्ड
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
269
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अनुभवी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गर्दै रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड प्रदान गरेको हो।
फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले रेनुकालाई अवार्डसहित नगद १ लाख रुपैयाँ प्रदान गरेर सम्मान गरे। घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्दै आएकी रेनुका सन् २०१० देखि नियमित रूपमा राष्ट्रिय टोलीको हिस्सा रहँदै आएकी छिन्। उनले नेपालका लागि ६३ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउन्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला खेलाडीलाई सम्मान गर्न सुरु गरेको हो। गत वर्ष यो अवार्ड युवा खेलाडी प्रिती राईले जितेकी थिइन्। घरेलु महिला फुटबलमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै हरेक वर्ष एक जना महिला खेलाडीलाई सम्मान गर्ने योजना अनुरूप यस वर्ष रेनुकालाई छानिएको फाउन्डेसनका अध्यक्ष सिंहले बताए।
अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै रेनुकाले भनिन्, "यो अवार्ड पाउँदा धेरै खुशी छु। परिवारकै सहयोगका कारण नेपाली फुटबलमा लगातार योगदान दिन पाएकी छु। यस किसिमका सम्मानले खेलकुदमै लागिरहन थप प्रेरणा मिल्छ।"
यसै कार्यक्रमका बिच फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहद्वारा लिखित पुस्तक ‘अल्फा सिएरा माइक’ को पनि विमोचन गरिएको छ। उक्त पुस्तकमा लेखकले आफ्नो जीवनका भोगाइहरू, नेपाली उड्डयन क्षेत्र, खेलकुद र मिडियासँग जोडिएका विविध रोचक विषयहरूलाई समेटेका छन्।