सक्रिय राजनीतिमा रहेका पदाधिकारी र सदस्यलाई पद छाड्न रेडक्रसको अपिल
दोहोरो भूमिका पाइए कारबाही हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
601
Shares
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल वा तिनका भ्रातृ सङ्गठनका विभिन्न पदमा बहाल रहेको भए रेडक्रसको संलग्नताबाट तत्काल अलग हुन अनुरोध गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ अनुसार सक्रिय राजनीतिमा संलग्न तथा राजनीतिक दलका विभिन्न निकाय र शासकीय संरचनाका पदाधिकारी वा सदस्यहरू रेडक्रसको कुनै पनि तहको समिति, आयोग र उपसमितिमा बस्न नपाउने व्यवस्था छ।
रेडक्रसले जारी गरेको विज्ञप्तिमा विधानको यस व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ। साथै, रेडक्रसका कुनै पनि पदाधिकारी वा सदस्य राजनीतिक दलको पदमा रहेको थाहा भएमा तथ्यसहित इमेल ([email protected]) मार्फत जानकारी गराउन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ।
रेडक्रसका सात सिद्धान्त, मूल्य र मान्यतामा आधारित भई तटस्थ र निष्पक्ष रूपमा काम गर्ने यो देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रसमा राजनीतिक दलहरूको बढ्दो प्रभाव र संलग्नताका कारण आन्तरिक समस्याहरू जटिल बन्दै गएको भन्दै बेलाबेला सरोकारवालाहरूबाट आलोचना हुने गरेको छ।
यो विषयलाई गम्भीरतापूर्वक लिँदै रेडक्रस तथा रेडक्रिसेंट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउनेसम्मको नीति अख्तियार गरेपछि नेरेसोले यो कडा कदम चालेको हो।