पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइलनमा, क्रोएसिया २–१ ले पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
543
Shares
काठमाडौँ । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।
क्यानाडाको बीएमओ फिल्डमा मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलमा मध्यान्तरपछि क्रोएसियाले गोलको खाता खोलेको थियो ।
५३ औँ मिनेटमा इभाँ पेरिसिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । ६८ औँ मिनेटमा पोर्चुगलले बराबरी गर्यो ।
पेनाल्टीलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरे । रोनाल्डोको यो विश्वकपको ११औँ गोल हो ।
निर्धारित ९० मिनेटको खेल बराबरीतर्फ अगाडि बढिरहेका बेलामा इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई जिताए ।
इन्जुरी समयको १३ औँ मिनेटमा क्रोएसियाका यास्को जीभाडिओलले गोल गरेका भए पनि भीएआरले उक्त गोललाई मान्यता नदिएसँगै क्रोएसिया सनसनीपूर्ण बराबरी गर्ने अवसरबाट वञ्चित भएको थियो ।
यो खेलको अन्तिम इन्जुरी समय १९ मिनेटसम्म पुगेको थियो ।
पोर्चुगलले समूह चरणमा नवप्रवेशी टिम उज्बेकिस्तानलाई ५–० ले हराएको थियो भने कोलम्बियासँग गोलरहित तथा चेक गणतन्त्रसँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह चरणमा क्रोएसियाले घानालाई २–१ ले तथा पानामालाई १–० ले हराउँदा इङ्गल्याण्डसँग भने ४–२ ले पराजित भएको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए ।
३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १२ खेलबाट १२ टिम बाहिरिएका छन् भने १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन र पोर्चुगल प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।
त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो ।
त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो ।
त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो ।