काठमाडौँ । प्रधानमन्त्री पद छाड्नुअघि अन्तिम विदेश भ्रमणका रूपमा बेलायती प्रधानमन्त्री किर स्टारमर बिहीबार युक्रेन पुगेका छन्। राजधानी किएभमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आगामी सरकारका पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको छ।
बेलायती सरकारका अनुसार सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनुअघि स्टारमरले युक्रेनसँगको सुरक्षा, सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नेछन्। उनले बेलायतको नेतृत्व परिवर्तन भए पनि युक्रेनप्रतिको प्रतिबद्धतामा कुनै कमी नआउने विश्वास दिलाउनेछन्। स्टारमरले आफ्नो कार्यालयमार्फत जारी सन्देशमा युक्रेनप्रति बेलायतको समर्थन अटल रहने बताएका छन्।
उनको स्थानमा एन्डी बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्। बर्नह्याम शुक्रबार सत्तारूढ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नेछन्। फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता बर्नह्याम बेलायतका पाँचौँ प्रधानमन्त्री बन्न लागेका हुन्।
घरेलु नीतिमा पटक–पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गएकाले स्टारमरले गत जुन २२ मा राजीनामाको घोषणा गरेका थिए। यद्यपि, युक्रेनप्रतिको उनको अडान र नाटोप्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उनले उल्लेखनीय समर्थन प्राप्त गरेका थिए। स्टारमरले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर सम्भावित शान्ति सम्झौतापछि युक्रेनको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय शान्ति सेना गठन गर्ने प्रयासको नेतृत्व गर्दै आएका थिए।
यसैबीच, बेलायतले सोमबार युक्रेनका लागि युरोपेली सङ्घ (ईयू) ले घोषणा गरेको ९० अर्ब युरो (१०३ अर्ब अमेरिकी डलर) बराबरको सहायता ऋण कार्यक्रममा पनि सहभागिता जनाएको