तीन महिनामा देशभर विपद्का साढे तीन हजार घटना, एक सय ६० जनाको मृत्यु
आगलागी र सर्पदंशको बढी प्रभाव
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
134
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन्। ती घटनाहरूमा परी १६० जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा भएका विभिन्न विपद्मा परेर थप दुई जना बेपत्ता भएका छन् भने ९४५ जना घाइते भएका छन्। यस अवधिमा कुल चार हजार ३७५ परिवार प्रभावित भएका छन्।
प्राधिकरणको विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीमा परी १७ जनाको मृत्यु, १०९ जना घाइते र ९९० परिवार प्रभावित भएका छन्।
यस्तै, तराई तथा ग्रामीण क्षेत्रमा अत्यधिक जोखिमका रूपमा रहेको सर्पदंशका ५१४ घटना भएका छन्। सर्पदंशका कारण सबैभन्दा बढी अर्थात् ३८ जनाको मृत्यु भएको छ भने ४७९ जना घाइते र ५१७ परिवार प्रभावित भएका छन्।
वितेका तीन महिनामा हुरीबतासका ४७७ वटा घटना दर्ता भएका छन्, जसमा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३५६ परिवार प्रभावित भए। यसैगरी, मनसुन सुरु भएसँगै बढेको पहिरोका ४३३ घटनामा परी १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन्।
चट्याङका २२३ घटनामा २४ जनाको ज्यान गएको छ भने १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्। वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते र २८७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
असार मसान्तसम्म बाढीका १६१ घटना भएका छन्। जसमा ९ जनाको मृत्यु भएको छ, २ जना बेपत्ता छन्, ९ जना घाइते र ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा ४ जनाको मृत्यु, १ जना घाइते र १३२ परिवार प्रभावित भएका छन्।
यस अवधिमा हिमाली क्षेत्रमा लेक लागेका (अल्टिच्युड सिकनेस) ५५ घटना भएका छन्। जसमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेका छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ।
यसैगरी, गर्मी महिनामा वन डढेलोका १९१ घटना भएका थिए, जसमा परी १ जनाको मृत्यु र २ जना घाइते भएका थिए। हिमाली क्षेत्रमा हिउँपहिरोका दुई वटा घटनामा परी १ जनाको मृत्यु र १ जना घाइते भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।