arrow

प्रतिष्ठाको लडाइँमा फ्रान्स र इङ्गल्याण्ड, तेस्रो स्थानको सम्मान कसलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
france-england-worldcup.jpg

काठमाडौँ। फिफा विश्वकप २०२६ को उपाधि यात्राबाट सेमिफाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्गल्याण्ड आइतबार बिहान तेस्रो स्थानका लागि हुने प्लेअफमा आमनेसामने हुँदैछन् ।

नेपाली समयअनुसार आइतबार बिहान २:४५ बजे अमेरिकाको मायामी स्टेडियममा शुरू हुने यो खेल उपाधिका लागि नभए पनि दुवै टोलीका लागि सम्मान, प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद् अन्त्य गर्ने अवसरका रूपमा हेरिएको छ ।

सेमिफाइनलमा फ्रान्स स्पेनसँग २-० ले पराजित भएको थियो भने इङ्गल्याण्ड अर्जेन्टिनासँग २-१ को हार बेहोरेको थियो। त्यसैले दुवै टोली हारको पीडा बिर्सेर जितका साथ प्रतियोगितालाई बिदाइ गर्ने लक्ष्यमा मैदान उत्रिनेछन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सका लागि पनि यो अन्तिम खेल हुने भएकाले टोली अतिरिक्त प्रेरणाका साथ खेल्ने अपेक्षा गरिएको छ।

विश्वकप इतिहासमा फ्रान्स र इङ्गल्याण्डबीच यो चौथो भेट हुनेछ। सन् १९६६ को विश्वकपमा इङ्गल्याण्डले फ्रान्सलाई २-० ले हराएको थियो। सन् १९८२ मा पनि इङ्गल्याण्ड ३-१ ले विजयी भयो।

तर सन् २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलमा फ्रान्सले २-१ को जित निकाल्दै इतिहास बदल्यो। समग्र अन्तर्राष्ट्रिय भेटमा भने इङ्गल्याण्डले ३२ खेलमध्ये १७ जित निकालेको छ भने फ्रान्स १० खेलमा विजयी भएको छ । पाँच खेल बराबरीमा सकिएका छन्।

तेस्रो स्थानको भिडन्तको खेलमा फ्रान्सको सबैभन्दा ठूलो भरोसा कप्तान केलियन एम्बाप्पेमाथि हुनेछ। गोल्डेन बुटको दौडमा रहेका एम्बाप्पेसँगै उस्मान डेम्बेले, माइकल ओलिसे, ओरेलियन चुआमेनी र विलियम सालिबा फ्रान्सका प्रमुख खेलाडी हुन्। एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको समान ८ गोल छ । 

यता इङ्गल्याण्डका कप्तान ह्यारि केन, मिडफिल्ड स्टार जुड बेलिङ्घम, बुकायो साका, कोल पाल्मर र डेक्लान राइस ले टोलीको आशा बोकेका छन्। केन र बेलिङ्घमले समान ६ गोल गरेका छन् । 

फ्रान्स पछिल्ला ठूला प्रतियोगितामा इङ्गल्याण्डमाथि मनोवैज्ञानिक रूपमा केही बलियो देखिएको छ। तर समग्र इतिहास र विश्वकपको प्रारम्भिक भेटहरू इङ्गल्याण्डकै पक्षमा छन्।

मिडफिल्डमा बेलिङ्घम र चुआमेनीको प्रतिस्पर्धा तथा एम्बाप्पे र केनको व्यक्तिगत प्रभावले खेलको नतिजा निर्धारण गर्ने सम्भावना छ।

तेस्रो स्थानको खेललाई कतिपयले औपचारिक मान्ने गरे पनि दुवै टोलीका लागि यो सम्मान, फिफा वरीयता र भविष्यको मनोबलसँग जोडिएको महत्वपूर्ण भिडन्त हो।

त्यसैले यो खेल केवल तेस्रो स्थानको सम्मान होइन, दुई युरोपेली फुटबल शक्तिबीच इतिहास र प्रतिष्ठाको अर्को रोमाञ्चक अध्याय पनि हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ