चितवनमा एक वर्षमा ५४५ सवारी दुर्घटना, १०५ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
168
Shares
चितवन । चितवन जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा भएका पाँच सय ४५ सवारी दुर्घटनामा एक सय पाँच जनाको मृत्यु भएको छ भने नौ सय ९९ जना घाइते भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना, मृतक र घाइतेको संख्या घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा एक हजार ५० दुर्घटना हुँदा एक सय २० जनाको मृत्यु र एक हजार आठ सय ७७ जना घाइते भएका थिए।
गत वर्ष पूर्व-पश्चिम राजमार्गमा एक सय ३७ दुर्घटनामा ३४ जनाको मृत्यु तथा एक सय १४ जना घाइते भए। नारायणगढ-मुग्लिन सडकखण्डमा ४८ दुर्घटनामा १० जनाले ज्यान गुमाउँदा एक सय ८० जना घाइते भएका थिए।
पृथ्वी राजमार्गमा २२ दुर्घटनामा छ जनाको मृत्यु र ६२ जना घाइते भएका छन्। सहरी सडकमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु तथा ७३ जना घाइते भएका थिए भने भित्री सडकमा दुई सय ८३ दुर्घटनामा ४१ जनाको मृत्यु र चार सय ७० जना घाइते भएका छन्।
तथ्यांकअनुसार दुर्घटनाको सबैभन्दा ठूलो कारण तीव्र गति रहेको छ। कुल दुर्घटनामध्ये ३८ प्रतिशत तीव्र गतिका कारण, २२ प्रतिशत चालकको लापर्वाही र १७ प्रतिशत सडक प्रयोगकर्ताको असावधानीका कारण भएका छन्। विस्तृत विवरणअनुसार तीव्र गतिका कारण दुई सय नौ, चालकको लापर्वाहीले एक सय २१, यात्रुका कारण ९७, मादक पदार्थ सेवनबाट ३५, ओभरटेक गर्दा २८, सडकको अवस्थाका कारण ३५, यान्त्रिक समस्याले आठ, मौसमका कारण छ, पशुचौपायाका कारण तीन तथा अन्य कारणले तीन दुर्घटना भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन प्रभावित भएका छन्। मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ। त्यसपछि पैदलयात्री १८, जीप-कार र टेम्पोबाट आठ/आठ, शारीरिक शक्तिबाट चल्ने सवारीबाट सात, बसबाट पाँच, ट्रक-ट्याङ्करबाट तीन, माइक्रोबाट एक तथा पहिचान नखुलेका सवारीबाट तीन जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
समयका हिसाबले पनि साँझ र रातको समय सबैभन्दा जोखिमपूर्ण देखिएको छ। साँझ ६ देखि राति १२ बजेसम्म दुई सय १४ दुर्घटना, दिउँसो १२ देखि साँझ ६ बजेसम्म एक सय ५६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म एक सय २४ र राति १२ देखि बिहान ६ बजेसम्म ५१ दुर्घटना भएका छन्।
यसैबीच, ट्राफिक प्रहरीले गत एक वर्षमा १० हजार ८० चालकलाई कार्बाही गरेको छ। कार्बाहीमा परेकामध्ये एक हजार तीन सय ७९ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने र सय जना लागुऔषध सेवन गरेका चालक छन्।
ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट एक करोड ७५ लाख ७७ हजार पाँच सय तीन रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ। रासस