arrow

आफ्नो निर्वाचन क्षेत्रमा के-के गरे नेता साउदले ?

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
np-saud.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउँदले कञ्चनपुरले विकासमा क्रान्तिकारी फड्को मारेको बताएका छन् । २०७० सालको संविधान सभाको निर्वाचन कञ्चनपुर क्षेत्र नम्बर दुर्इबाट निर्वाचित नेता साउँदले आफू निर्वाचित भइसकेपछि विकासका कामहरु द्रुत गतिमा अघि बढाएको बताए । 

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता साँउदले जनताको प्रत्यक्ष जिवनसँग जोडिएका मुद्दामा आफू निकै गम्भिर भएर लागेको बताए । उनले भने, 'मलार्इ २०७० सालमा जनताले विजयी गराइसकेपछि चुनाव प्रतिबद्धता जनाए अनुसारका मुद्दाहरुलार्इ ठोस रुपमा सम्बोधन गरेको छु । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक, सिंचार्इ, खानेपानी, शिक्षा तथा रोजगारीलगायतका विषयमा मैले काम गरेको छु ।'

मोहना सिंचार्इ परियोजना, धारापानी सिंचार्इ परियोजन, डोटी-डडेल्धुरा-कञ्चनपुर जोड्ने सडक, वाणीबाट देखतभुली हुँदै पचकडी जोड्ने सडक, झलारीको कलुवापुरदेखि बेलौरीसम्मको सडक, मालुबेलादेखि रैकवार हुँदै धनगढीसम्मको सडक, मोहना भन्सारबाट बेलौरि हुँदै दैजीसम्मको हुलाकी सडकसँगै २१ वटा सानाठुला पुलहरु निर्माण गरेको नेता साउँदले जानकारी दिए । उनले केही सडकहरु कालोपत्रे हुने क्रममा छन् भने केही सडक, पुल तथा सिंचार्इ परियोजनाहरु सम्पन्न भइसकेका बताए ।

पूर्व मन्त्री समेत रहेका नेता साँउदले आफू सिंचार्इ मन्त्री हुँदा कञ्चनपु्रमा २६ वटा खानेपानी परियोजनाहरु सञ्चालन गरेको बताए । उनले भने, 'कञ्चनपुरका हरेक जनताको स्वच्छ र शुद्ध खानेपानीमा पहुँच स्थापित गर्न खानेपानी परियोजनाहरु अघि बढाइएको हो । जनताको सहज र सुलभ पहुँचका लागि क्षेत्र विकास कोषबाट हरेक स्थानीय तहमा एम्बुलेन्स सेवा र स्वास्थ्य चौकीको स्तरउन्नती गरिएको बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउँदले आरक्ष, सुकुम्बासी र बाढीपिडितको समस्या समाधान गर्ने गरी वार्ता अघि बढाइएको बताए । उनले कामहरु गर्दागर्दै पनि अझै धेरै कामहरु अधुरा रहेकोले त्यसलार्इ आगामी दिनमा पुरा गर्दै लैजाने प्रतिबद्धता समेत जनाए । उनले भने, 'हामीले मुक्त कमैयाहरुको समस्या सम्बोधन गर्न सिंचार्इका लागि प्रति जग्गा भोगचलन गर्नेहरुलार्इ पनि डिप ट्युवेल र स्यालो ट्‍युवेलहरु उपलब्ध गराएका छौं । 

नेता साउँदले विद्‍युतीय लाइन विस्तार नभएका क्षेत्रमा विद्युत विस्तार गरिएको, शैक्षिक गुणस्तर वृद्धिका लागि त्यहाँका विद्यालय तथा कलेजहरुको भौतिका संरचना निर्माण र आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिए । खेलकुद, कला संस्कृति प्रबर्द्धनमा पनि आफूले विशेष पहल गरेको उनले बताए ।

दोस्रो चरणमा हुने प्रतिनिधि सभाका लागि कञ्चनपुर क्षेत्र नम्बर दुर्इबाट उम्मेदवार बनेका साउँदले कञ्चनपुरमा विकासको स्वरुप नै परिवर्तन गरेकोले त्यहाँका जनताले विगत लामो समयदेखि नै आफूलार्इ माया गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, 'म हरेक समय आफ्ना मतदाताहरुसँग सम्पर्कमा छु । उहाँहरुका पिर मर्का र गुनासाहरु सम्बोधन गर्न सदा तयार भएँ । त्यसकारण आगामी निर्वाचनमा मलार्इ नै भोट दिएर जिताउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।'

पत्रकारको जिज्ञासको जवाफ दिँदै नेता साउँदले आफ्नो प्रतिस्पर्धा कसै व्यक्ति विशेषसँग नभएको उल्लेख गर्दै भने, 'मेरो प्रतिस्पर्धा कुनै व्यक्तिसँग भन्दा पनि विकास र समृद्धिसँग हो । कांग्रेसलार्इ फुटाएर मुलुकलार्इ अस्थिरता र अन्धकारमा लैजना खोज्नेहरुले केही भ्रम फिंजाइरहेकोमा त्यसको पछि नलाग्न म पत्रकार साथीहरुलार्इ आग्रह गर्दछु ।'

कांग्रेसले छिटै घोषणापत्र जारी गर्दैछ । त्यसमा पनि कांग्रेसले विगतमा गरेका कामहरु र आगामी रणनितिहरु उल्लेख गरिएको बताउँदै नेता साउँदले निर्वाचन अघि आफूले सांसद विकास कोषको रकमलार्इ पारदर्शी बनाउन र जनतामा फिंजाइका भ्रमहरुलार्इ अन्त्य गर्न श्वेतपत्र जारी गर्ने समेत जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ