arrow

जेनेभा वार्तामा सिरियाली विपक्षी पनि सहभागी हुदै, अमेरिका र अरेबियाद्वारा स्वागत

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
siriya.jpg.jpeg
जेनेभा । स्वीजरल्याण्डको जेनेभामा हुन लागेको सिरियासम्बन्धी शान्ति वार्तामा सिरियाली विपक्षी समूह पनि सहभागी हुने भएको छ ।  सो वार्तामा सहभागी नहुने बताउदै आएको सिरियाको मुख्य विपक्षी समूहले शुक्रबारबाट जेनेभामा सुरु भएको सो शान्तिवार्तामा सहभागिता जनाउने निर्णय शुक्रबार अबेरतिर मात्र गरेको छ । शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरु भेट्ने जनाइएको थियो । तर विपक्षी समूहका प्रतिनिधि भने शुक्रबार त्यहाँ पुग्न नसकेपछि औपचारिक वार्ता सुरु भएको छैन । 
 
सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको सहभागिता नरहेपछि यसको निष्कर्षका विषयमा प्रश्न उठेको थियो । साउदी अरेबियाले मध्यस्थता गरिरहेको यस वार्तामा सहभागिताका लागि साउदी अरेबियाका मध्यस्थकर्ता समूहका अधिकारीहरुले रियादमा सिरियाली विपक्षीलाई भेटेका थिए । 
 
रियादमा गएको चारदिनदेखि ती विपक्षीहरुसँग अरेबियाली मध्यस्थकर्ताहरुले वार्ता गरेका थिए । सोही वार्ताकै क्रममा शुक्रबार अबेरतिर जेनेभा वार्तामा आफूहरु पनि सहभागी हुने जानकारी उनीहरुले दिएका हुन् । सो भेटका क्रममा सिरियाली विपक्षी समूहका सदस्यहरुले आफ्ना केही शर्तहरु रहेको भन्दै ती शर्त पूरा नहुदासम्म सरकारी पक्षसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका थिए । 
 
सिरियाली विपक्षी समूहका एक वरिष्ठ अधिकारीले एएफपी समाचारदातालाई आफूहरु सो वार्तामा सहभागी हुन लागेको जानकारी शुक्रबार गराएका थिए । साउदी अरेबियाले गएको डिसेम्बर महिनामा मध्यस्थकर्ता समूह गठन गरेको थियो । सो समूहको गठनसँगै उसले वार्ताको प्रयास पनि थालको हो । सिरियाली विपक्षीहरुले सिरियामा सरकारी वा अन्य तर्फबाट गरिएका हवाई कारबाहीको अन्त्य हुनुपर्ने शर्त अघि सारेका थिए । 
 
साथै सिरियामा सहायताका लागि गरिने प्रयासहरुलाई साकार बनाइनुपर्ने र यसका माध्यमबाट आफूहरुको प्रतिनिधित्वको सुनिश्चित हुने उनीहरुले जनाएका थिए । रियादमा सिरियाली सरकारी पक्ष र विद्रोहीबीच गत डिसेम्बरमा आपसी सहमति र समझ्दारीबाट समस्याको समाधान निकाल्ने विषयमा सहमति भएपछि जेनेभामा यो वार्ताको आयोजना गरिएको हो । सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् । 
 
साउदी अरेबियाली उच्च मध्यस्थकर्ता समूहका संयोजक रेद हिजबले जेनेभा वार्ता एक उत्कृष्ट अवसर भएकोले यसलाई खेर जान दिन नहुने धारणा राख्नुभयो । उहाँले विपक्षीहरुलाई पनि वार्ताको टेबलमा बस्न आग्रह गर्दै वार्ताका लागि उनीहरुले अघि सारेका प्रारम्भिक शर्तहरुलाई पूरा गर्नेतर्फ सबैको ध्यान पुग्ने आश्वासन पनि दिनुभयो । सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन । यस पटकको वार्ता साउदी अरेबियाले नै तय गरेको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ । 
 
अमेरिका र अरेबियाको स्वागत 
 
यसैबीच सो वार्तामा सिरियाली विपक्षी समूह सहभागी हुने भनी आएको समाचारको अमेरिकाले स्वागत गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार सो समाचारको स्वागत गर्नुभएको बताइएको छ । उहाँले भन्नुभएको छ– विपक्षी उच्चस्तरीय मध्यस्थकर्ता समूहले सिरियाली विपक्षीहरुको पक्षबाट जेनेभा वार्तामा सहभागिता जनाउन लागेको भन्ने समाचारको संयुक्त राज्य अमेरिकाले स्वागत गर्दछ । 
 
साथै उहाँले शान्तिपूर्ण वार्ताको माध्यमबाट सम्पूर्ण समस्याको समाधान निकाल्न पनि शुभकामना दिनुभएको छ । त्यस्तै साउदी अरेबियाको विदेशमन्त्रालयले पनि सिरियाली विपक्षीहरुको सो निर्णयको स्वागत गरेको छ । उक्त मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत सो विपक्षीको सो निर्णयको स्वागत गर्दै वार्ताका माध्यमबाटै सबै समस्याको समाधान निकाल्नेतर्फ सबै लाग्न आग्रह गर्नुभएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ